एमाले जिताएर के गर्ने? ओलीले स्थानीय सरकार पनि भंग गरिदिन्छन् : देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेलाई स्थानीय तह निर्वाचनमा जिताए फेरि स्थानीय सरकार पनि विघटन गर्ने बताएका छन्।

सुदूरपश्चिमको अस्थायी राजधानीसमेत रहेको धनगढीमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै ओलीलाई जिताए स्थानीय सरकार र संसद सबैतिर हंगामा गर्ने भएकाले जिताउन नहुने बताएका हुन्।

‘ओलीजीको पार्टीलाई जिताउनु भनेको संसद भङ्ग गर्न दिनु हो। पहिले पनि संसद भंग गर्ने अधिकार ओलीलाई थिएन। संसद् विघटन गर्नै पाइँदैन’ देउवाले भने, ‘एमाले पार्टीलाई जिताएर के गर्ने? फेरि संसद् भंग गर्ने ? फेरि संसदमा हंगामा गर्ने? त्यस्तो व्यक्तिलाई संसदमा ल्याउन हुन्न।’

एमालेमा ओलीले सबैलाई थर्काएर राखेको आरोप लगाए। उनले अघिल्लो पटक पनि प्रतिनिधिसभा विघटन गरेपछि आफूहरुले पुनःस्थापना गरेको बताए।

देउवाले भने, ‘एमालेले जितेको खण्डमा संसद, प्रदेश, स्थानीय तह भङ्ग गर्न सक्छन्। त्यसैले कांग्रेस र तालमेल भएका ठाउँमा गठबन्धनलाई जिताउनुहोस्।’

उनले अहिलेको आवश्यकता गठबन्धन बलियो बनाउनु रहेको बताए। सबै ठाउँमा गठबन्धनको सरकार आवश्यक रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *