अबको ४ दिनमा स्थानीय तहको निर्वाचन छ। देशभरि एकैसाथ ७ सय ५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ तर यतिवेला एउटै स्थानीय तहले सिंगो देशको ध्यान तानेको छ।
सत्ता, शक्ति, संघर्ष सबै आफूतिर तानेको चितवनको भरतपुर महानगरपालिका राजनीतिक दलका लागि मात्रै होइन आम मतदाताको पनि चासोमा छ। देशको संघीय राजधानी काठमाडौं महानगरपालिकामा भएपनि राजनीतिको केन्द्रीय थलो भने भरतपुर महानगरपालिका बनेको छ। भरतपुर सत्तापक्ष र प्रतिपक्ष दुवैको प्रतिष्ठाको विषय पनि बनेको छ।
४ दिनपछि हुने स्थानीय तहको निर्वाचनले भरतपुरमा दिने परिणामले देशको राजनीतिक उतारचढाव हुने निश्चितप्रायः छ। भरतपुरमा आउने मत परिणामले नै हाल कायम सत्ता गठबन्धनको आयु पनि निर्धारण गर्नेछ। त्यसैले पनि यतिवेला भरतपुर महानगरपालिकामा परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरत भइरहेको छ।
मंगलबार रातिदेखि मौन अवधि शुरु हुने भएकाले प्रतिस्पर्धीहरू यतिवेला जीत आफ्नो पक्षमा पार्ने दाउसहितको कसरत गरिरहेका छन्। ३० गते हुने स्थानीय तहको निर्वाचनबाट भरतपुर महानगरपालिकाको नेतृत्व गर्न त्रिपक्षीय भीडन्त हुँदैछ। सत्तारुढ गठबन्धनबाट माओवादीकी रेनु दाहाल र प्रतिपक्षी रहेको एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन्।
दाहाल र सुवेदी दुवैको भीडन्तलाई चुनौती दिएका छन्, जगन्नाथ पौडेलले। कांग्रेसका पूर्वसांसद पौडेलले गठबन्धनकी उम्मेदवार दाहालविरुद्ध उम्मेदवारी दिएका हुन्। अघिल्लो निर्वाचनमा पनि भरतपुर माओवादीले पाएको भन्दै यो निर्वाचनमा भरतपुर कांग्रेसले पाउनुपर्ने उनको माग थियो। तर भरतपुरमा फेरि माओवादीबाट रेनु दाहाल उम्मेदवार बनेपछि बागी उम्मेदवारी दिएका उनले भरतपुरको निर्वाचनलाई रोचक बनाएका हुन्।
उसो त अघिल्लो निर्वाचनमा पनि भरतपुरको निर्वाचन रोचक नभएको होइन। त्यतिवेला पनि मतपत्र च्यातेको विषयले सबैको ध्यान भरतपुरतिर तानेको थियो। गठबन्धनकी उम्मेदवार दाहाल माओवादी अध्यक्ष प्रचण्डपुत्री भएकाले उनको उम्मेदवारीले मात्रै पनि भरतपुरमा सबैको चासो रहने भएपनि पौडेलको उम्मेदवारीले त्यहाँको निर्वाचनलाई थप रोचक र पेचिलो बनाइदिएको छ।
बागी उम्मेदवार पौडेल रेनु दाहालको जीतका लागि मात्रै नभएर एमाले उम्मेदवार सुवेदीका लागि पनि चुनौती बनेका छन्। भरतपुर माओवादीलाई दिएकोमा कांग्रेस असन्तुष्ट थियो।
