शिक्षण संस्था पनि दुई दिन बिदा, वर्षे र हिउँदे बिदा काटियो


शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले हिउँदे र वर्षे बिदा कटौती गरेको छ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयअनुसार कोर्स पूरा गराउन बिदा कटौती गरिएको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिए।

सातामा दुई दिन बिदा दिँदा समयमा कोर्स नसकिने भएपछि मन्त्रालयमा बिदाबारे छलफल चलेको थियो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले विद्यालयमा पनि यो निर्णय लागू गर्नुपर्ने भए कोर्स सक्ने विकल्प खोज्नुपर्ने सुझाव सरकारलाई दिएको थियो।

‘शैक्षिक संस्थामा पनि दुई दिन बिदा लागू हुन्छ, शुक्रबार पूरा समय पढाउनुपर्ने र नपुग समय वर्षे र हिउँदे बिदा कटौती गरी अधिकतम ३० दिन बिदा कटौती गर्ने मन्त्रीस्तरीय निर्णय भएको छ,’ शर्माले भने।

त्यस्तै, उनले क्याम्पसको हकमा विश्वविद्यालयले समन्वय गर्ने,प्राविधिक विद्यालयको हकमा सिटिइभिटीले निर्णय गर्नुपर्ने निर्णय भएको बताए। हिउँदे बिदा कहिले दिने भन्ने स्थानीय तहले गर्नुपर्ने उनको भनाइ छ। शैक्षिक क्यालेन्डरअनुसार वर्षभरि १ सय ८० दिन पठनपाठन सञ्चालन गर्नुपर्नेछ।

पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी मुद्रा सञ्चिति बढाउन भन्दै गरिएको शनिबार र आइतबार दुई दिन शैक्षिक संस्थालाई समेत सार्वजनिक बिदा दिने निर्णय आगामी जेठ १ गतेदेखि लागू हुँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *