जुम्लाको तातोपानी गाउँपालिका-३ स्थित मतगणना स्थलबाहिर झडप हुँदा ६ जना घाइते भएका छन्।
मतगणना स्थलबाहिर माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। वडाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक गर्ने क्रममा झडप भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।
वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएपछि माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार समर्थक युवाले ढुङ्गामुढा गर्दा झडप शुरु भएको थियो। झडपमा तातोपानी-३ का २४ वर्षीय प्रेमसागर रावल, १५ वर्षीय गणेश शाही, ५० वर्षीया रामुदेवी शाही, २१ वर्षका अजित कामी, प्रकाश सुनार र तातोपानी-१ का १८ वर्षीय धर्मराज रावत घाइते भएका प्रहरीले जनाएको छ।
घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारपछि ३ जना घर फर्किसकेका छन्। डिएसपी चन्दका अनुसार एक जनाको अवस्था गम्भीर रहेको छ।
झडपमा संलग्न तातोपानी-३ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार डिल्ली रावलसहित ८ जनालाई नियन्त्रणमा लिइएको डिएसपी चन्दले बताए। अहिले मतगणना स्थलमा स्थिति सामान्य रहे पनि आसपासमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ।
