बजेट निर्माण गर्दा अमुक व्यक्तिले हस्तक्षेप गर्नु राष्ट्रघात हो : योगेश भट्टराई


नेकपा(एमाले)का सांसद योगेश भट्टराईले सञ्चार माध्यमहरूमा आए अनुसार आ.व. २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गर्नु राष्ट्रघात भएको बताएका छन्। यस विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा समय माग गरि बोल्दै सांसद भट्टराईले आ.व. २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिनिधि मार्फत् करको दर हेरफेर गर्न मन्त्रालयका पदाधिकारीहरूलाई दबाब दिएको भन्दै यस विषयमा प्रष्ट पार्न सरकारसँग माग गरेका हुन्।

उनले अर्थमन्त्री शर्माले आफ्नो अमुक प्रतिनिधिलाई जेठ १४ गते मध्यराती अर्थमन्त्रालयमा खटाई विद्युतिय गाडीका कर, स्वास्थ्य विमाको विषय, फलाम र फलामजन्य वस्तुहरूको कर, सेनिटरी प्याडको कर लगायको विषयमा करको दर हेरफेर गराएको सञ्चारमाध्यममा समाचार आएको उल्लेख गरे। यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्री दुवैले स्पष्टिकरण दिनुपर्ने बताए।

अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा त्यसरी अर्थमन्त्रालयमा मानिसलाई प्रवेश गराउनु राष्ट्रको नाममा खाएको सपथको खिलाप भएको उनले जिकिर गरे।

‘जर्बजस्ती अर्थमन्त्रीको निर्देशनमा मध्येरातमा तमाम बस्तुहरूमा राजस्व र भन्सारका दरहरू तलमाथि गरेर के गर्न खोजिएको हो? हामी यो गम्भिरताका साथ प्रश्न उठाउन चाहान्छौँ। हामीले सपथ खाएका छौँ। स्वयम् सभामुख महोदयले सपथ खानुभएको छ। हामीले सपथ खाएका छौँ। हरेक मन्त्रीले सपथ खाएका छौँ। र हामीले के भनेका छौँ भने पदमा रहँदा अथवा नरहँदा राज्यका कुनैपनि गोपनीयताहरू भंग गरिदैन। त्यसमा पनि बजेट निर्माणको हाम्रो एउटा प्रक्रिया छ’, उनले भने, ‘बजेट निर्माणको झण्डै एक महिना अगाडीदेखि बजेट शाखामा र अर्थमन्त्रालयमा कुनैपनि मानिसहरूलाई प्रवेश दिइदैन। माननीय सदस्यहरूलाई पनि प्रवेश दिइदैन। त्यस्तो ठाउँमा यस्ता काम हुन्छन् भने यो राष्ट्रको नाममा खाएको सपथको पनि खिलाप हो। र यो जनघात मात्रै होइन, यो राष्ट्रघात पनि हो। किनभने यसले हाम्रा कतिपय उद्योग, व्यवसायमाथि धराशही भएका छन्। यस विषयमा म गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु।’

यसमा अर्थमन्त्रीजीको मात्रै सवाल होइन। प्रधानमन्त्रीको भनाई के छ ? प्रधानमन्त्रीजी र सत्तारुढ दलका समस्त नेताहरू र यो सिंगो संसद यसमा ध्यानाकर्षण हुनुपर्छ। प्रधानमन्त्रीजीको पनि ध्यानाकर्षण हुनुपर्छ भन्ने कुरा उनले बताए। करको दर हेरफेर हुँदा नेपालका उद्योगहरू धराशाही भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *