ह्‍वात्तै घट्यो पेट्रोलियमको मूल्‍य


सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गर्दै मूल्य घटाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आकिस्मक पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर कटौती गर्दै मूल्य घटाइएको बताए। घटाइएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेसमेत उनले जानकारी दिए।

अब पेट्रोल प्रतिलिटर १ सय ७९ र डिजेल १ सय ६३ रुपैयाँ पुगेको मन्त्री बडूले बताए। यसअघि आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले महँगी नियन्त्रणका लागि पेट्रोलियमको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो।

पछिल्लो मूल्यसूचीअनुसार हाल पेट्रोल डिजेल र मट्टीतेलको मूल्य क्रमश: प्रतिलिटर १९९, १९२ र १९२ रुपैयाँ तोकिएको थियो। पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धि भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन र सडक दुवैमा सशक्त आवाज उठाउँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *