अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि आज संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन्।
उनीमाथि बजेटबारे अनधिकृत व्यक्तिको प्रवेशमा करका दर हेरफेर गराएको विषय छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको छ। समितिले १० दिन भित्रमा सत्यतथ्य छानबिन गरी घटनाको यथार्थ बाहिर ल्याउनेछ। अर्थमन्त्री शर्माले समितिलाई काम गर्नमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने पनि बताएका छन्।
२०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्व नायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ। बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएपछि उनी थप शंकाको घेरामा परेका थिए।
आज बिहान नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पूर्व स्थायी समितिका सदस्यको बैठकपछि शर्माले संसदबाट आफ्ना कुरा राख्न लागेका हुन्। बैठकमा सहभागी माओवादी नेता हरिबोल गजुरेलले अर्थमन्त्री शर्माले आज आफ्नो कुरा राख्ने र त्यसपछिको अवस्था हेरेर अघि बढ्ने तयारी रहेको बताए।
अर्थमन्त्रीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच हिजो साँझ झण्डै एक घण्टा कुराकानी भएको थियो। हिजो बसेको मन्त्रिपरिषद् बैठकमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुले मन्त्री शर्माको राजीनामा माग गरेका थिए। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए।
२०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्व नायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ। बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएपछि उनी थप शंकाको घेरमा छन्।
