अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : थापा


नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ थापाले अर्थमन्त्री शर्माको सम्बन्धमा संसद भित्र र बाहिर प्रश्नहरु उठेकाले राजीनामा दिनुपर्ने बताए। अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने थापाको भनाइ छ।

यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानबिनमा दोषी देखिए कारबाही गर्नुपर्ने पनि थापाले बताए।

‘अहिले अर्थ मन्त्रालयले सिसिटिभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछि तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ। यत्रो विषय संसदमा उठ्यो। बाहिर उठ्यो। हो, होइन मलाई थाहा छैन। तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ। कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ र तत्काल छानबिन गर्नुपर्छ।’ उनले भने।

नियम, कानूनले पनि कम्तिमा तीन महिनासम्मको सिसिटिभी फुटेज राख्ने कुरा स्पष्ट भनेको भन्दै थापाले सामान्य मानवीय त्रुटी भनेर उन्मुक्ति नपाउने बताए।

‘त्यसमाथि पनि बजेट यो संसदले जुन पारित गरेको छ। यसको करको दर भनेको चाहिँ सामान्य कुरा होइन। कसैले सामान्य मानविय त्रुटी भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन।’ उनले थपे, ‘त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हितमा छ। तत्काल उहाँले राजीनामा दिने वा प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने। छानबिन गरेपछि दोषी हो भने दोषीले यसको सजाय प्राप्त गर्ने नै कुरा भयो। दोषी होइन भने कम्तिमा देशलाई, जनतालाई थाहा भयो। यो होइन रहेछ भन्ने कुरा थाहा हुन्छ।’

महामन्त्री थापाले अर्थमन्त्रालयको सिसिटिभी फुटेज मेटिएको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताए। उनले अर्थमन्त्री शर्मालाई राजीनामाका लागि आफुहरुले अनौपचारिक रुपमा भनिसकेको पनि जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *