ओलीको अहंकार कायमै रहे फेरि संसद्‍ बिघटन हुनसक्छ: प्रदीप पौडेल


काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद् पाँच वर्षअघि नै बिघटन हुने डर आफूलाई लागेको बताएका छन्। ओलीले संसदमा गरेको पछिल्लो सम्बोधनले त्यो कुरालाई संकेत गर्ने उनको जिकिर थियो।

बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले केपी ओली प्रवृत्ति बलियो हुँदै गयो भने त्यसले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन नसक्ने आरोपसमेत लगाए।

नेता पौडेलले ओलीले आफ्नै अहंकारका कारण आफू नेतृत्वको सरकार गुमाउनुपरेको पनि बताए। ओलीले दुईतिहाइ नेतृत्वको सरकार चलाउन पाए पनि मुलुकको हितमा काम गर्न नसकेको उनको बुझाइ थियो।

नेता पौडेलले भने, ‘केपी शर्मा ओलीको अस्तिको सम्बोधनले संसदमा धेरै ठूलो अहंकार प्रस्तुत भएको छ। उहाँले मौका नपाउनुभएको होइन। उहाँले दुई तिहाईको सरकार ३ वर्ष संचालन गर्ने मौका पाउनुभयो। मलाई लाग्छ–आजसम्मको इतिहासमा उहाँको समयमा जति भ्रष्टाचार कहिल्यै मौलाएन। त्यो सरकारलाई हामीले ढालेको होइन। केपी ओलीजीको अहंकारले त्यो सरकार ढलेको हो। मलाई लाग्छ–आजको यो हंग पार्लियामेन्ट पनि केपी ओलीजी जस्ताको प्रवृत्तिको कारणले पाँच वर्ष नै टिक्न नसक्ने स्थितिमा पुग्छ कि भन्ने मलाई डर लाग्छ।’

नेता पौडेलले छोटो समयमै सत्तालिप्सा देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि असन्तुष्टि व्यक्त गरे। मुलुकमा वैकल्पिक शक्ति भनेर उदाएको सो पार्टीले पुरानै शैली अप्नाएर मुलुकलाई अघि बढाउने योजना ल्याउन नसकेको उनको भनाइ थियो।

नेता पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको टिप्पणीसमेत गरे। आफू पहिलोपटक संघीय संसदमा पुगेको उल्लेख गर्दै उनले त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भइरहेको बताए।

नेता पौडेलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्कासमेत सांसदहरुले राख्न नसकेको उल्लेख गरे। उनले संसदमा झुटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखी नेताहरुले बोल्ने गरेकोमा पनि आपत्ति जनाए।

नेता पौडेलले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दाबी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *