नेपालको लगातार सानदार जित, कुवेत २४३ रनले पराजित


आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनौट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ। 

शुक्रबार सिंगापुरमाथि ९६ रनको सानदार जित निकालेको नेपाली युवा टोलीले शनिबार कुवेतविरुद्ध २ सय ४३ रनको फराकिलो जित दर्ता गराउन सफल भयो। 

नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेत ३० दशमलव ५ ओभरमा १ सय रनमै समेटियो। कुवेतलाई सस्तैमा समेट्न नेपालका आकाश चन्दले ६, हेमन्त धामी र  दिपेश कँडेलले २/२ विकेट लिए।

युएईको मलेक क्रिकेट ग्राउन्डमा यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले बिस्फोटक ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रनको विशाल स्कोर खडा गरेको थियो। 

नेपालका लागि अर्जुन कुमाल र देब खनालले सानदार शतकीय पारी खेले।

खनालले सर्वाधिक १ सय २५ रनको योगदान गर्दा अर्जुन कुमालले १ सय ८ रन जोडे। १ सय १७ बलको सामना गरेका खनालले ९ चौका र ३ छक्का प्रहार गरे। १ सय १२ बलको सामना गरेका कुमालले १२ चौका प्रहार गरे।​

विशालबिक्रम केसीले २३ तथा दीपक प्रसाद डुम्रे २० रनमा अविजित रहे। बलिङतर्फ कुवेतका अर्श साहिल काजमी र हेनरी थोमसले समान २/२ विकेट लिएका थिए ।

जारी प्रतियोगितामा प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन्। सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकप खेल्न पाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *