कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिए पनि सरकार सुरक्षित रहने भएको छ।
कर्णालीमा तीन मन्त्रालयसहित एमाले सरकारमा छ। केन्द्रमा बाहिरिएसँगै एमालेले प्रदेशमा पनि सरकार छाड्ने अनुमानबीच जोडघटाउ सुरु भएको हो। यहाँ पहिलो दल कांग्रेस हो भने माओवादी दोस्रो। ग्रेसको १४ सिट , माओवादीको १३ सिट छ। माओवादीलाई कांग्रेसले समर्थन गरेमा माओवादीको सरकार सुरक्षित हुने देखिएको हो।
४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सिट आवश्यक पर्छ। माओवादी एक्लैसँग १३ सिट छ नेपाली कांग्रेससँग १४ सिट छ। यस्तै नेकपा एकीकृत समाजवादीको १ सिट छ भने राप्रपाको १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य रहेका छन्। सरकार बन्नका लागि माओवादी र कांग्रेसकै सुविधाजनक सिट रहेको छ। जसका कारण मुख्यमन्त्री राजकुमार शर्मा निरन्तरता पाउनेमा ढुक्क छन्।
यसअघि पहिलो दलको हैसियतमा रहेको कांग्रेस १० पुसमा समीकरण बदलिएसँगै प्रतिपक्षमा बस्न बाध्य भएको थियो। त्यो बेला कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफू नै मुख्यमन्त्रीमा निरन्तर रहने बताउँदै आएका थिए। १० पुसमा केन्द्रमा नयाँ समीकरण बनेपछि उनको मुख्यमन्त्रीमा निरन्तरता पाउने आशामा ‘ब्रेक’ लागेको थियो। अहिले माओवादी संसदीय दलका नेता शर्मा मुख्यमन्त्री बनिसकेकाले कांग्रेसले अहिले नै मुख्यमन्त्रीमा भाग खोज्ने स्थिति भने देखिँदैन।
मुख्यमन्त्री शर्माले नयाँ समीकरणले कर्णालीमा खासै असर नपर्ने बताए। ‘म ढुक्कै छु,’ शर्माले भने। २७ पुसमा एमाले, राप्रपा र समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका शर्माले ११ माघमा मात्रै मन्त्रिमण्डललाई पूर्णता दिएका थिए।
एमालेका टेकराज पछाईले सामाजिक विकास मन्त्रालय, विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्रालय र जीतबहादुर मल्लले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। यस्तै माओवादीले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेको छ। साथै माओवादीकी उर्मिला विकलाई राज्यमन्त्री समेत माओवादीले बनाएको छ।
एमालेले सरकार बनाउन कुनै पनि हालतमा बहुमत जुटाउन सक्ने देखिँदैन। जसका कारण तीन मन्त्री पदसँगै सभामुख पद पनि गुमाउने जोखिम देखिएको छ। यति वेला एमालेबाट मन्त्री भएका सबै जना ‘ग्रास रुट’ अभियानमा व्यस्त छन् भने कांग्रेस, माओवादीका नेता केन्द्रको ‘सर्कुलर’ कुरिरहेका छन्।
