माओवादीले गणतन्त्र ल्याएको होइन : एमाले अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य नभएको दावी गरेका छन्। उनले मुलुकमा गणतन्त्र माओवादीले नभएर संविधानसभाले ल्याएको उनको तर्क छ।

विसं २०६५ सालमा राजतन्त्रको अन्त्य भएको तर माओवादीको हिंसात्मक गतिविधि २०६३ सालमै अन्त्य भएकाले उनीहरूकै कारण नेपालमा राजतन्त्र अन्त्य भएको भन्न नमिल्ने उनको तर्क थियो।

सुखानीका शहीदहरूको स्मृतिमा आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले आफूले राष्ट्रियताको कुरा गर्दा कसैले चित्त नदुखाए हुने समेत बताए।

अध्यक्ष ओलीले भने, ‘२०५२ सालपछि त राजनीतिक स्वार्थको लागि १७ हजार मान्छे मारिए। नेपालमा भएको के थियो के प्राप्तिको लागि मारिए? बहुदलीय व्यवस्था आएकै थियो। के को लागि मारिए त भन्दा अनौठो छ। आज गणतन्त्रका लागि भनिन्छ। ०६३ सालको सुरूमा द्वन्द्व र हिंसा समाप्त भयो। ०६३ सालमा बृहत शान्ति सम्झौता भयो कात्तिकमा। ६५ सालमा गएर राजतन्त्र संविधानसभाले हटायो भने जनयुद्धले त हटाएन होला? जनयुद्धबाट कब्जा त गरेको होइन होला त? संविधानसभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र?’

सरकार राष्ट्र र जनताको हितविपरीत चल्न खोजे सैह्य नहुने चेतावनी दिएका छन्। अध्यक्ष ओलीले राष्ट्र र जनताको हितविपरीत चल्न खोज्ने सरकारका कुनै पनि गतिविधि एमालेले सफल हुन नदिने पनि बताए।

राष्ट्रको स्वाधीनता र स्वाभिमानमाथि अतिक्रमण गरिए वा होच्याउने काम गरिए आफूलाई स्वीकार्य नहुने उनको भनाई थियो। उनले न्याय र समानताको आधारमा सबै राष्ट्रहरूसँग बराबरीको सम्बन्ध आफूहरूले राख्न चाहेको पनि पटकपटक दोहोर्‍याए।

ओलीले भने, ‘हामी हाम्रो राष्ट्रियतालाई माया गर्छौं। हाम्रो राष्ट्रको सार्वभौमसत्तालाई माया गर्छौं। स्वाधीनता, स्वतन्त्रतालाई माया गर्छौं। हाम्रो भौगोलिक अखण्डतालाई, हाम्रो भूमिलाई हामी माया गर्छौं। हामी हाम्रो राष्ट्रको स्वाधीनता र स्वाभिमानलाई अत्यन्तै माया गर्छौै। यसमा कसैले पनि अतिक्रमण गर्नु या यसलाई होच्या हामी सहँदैनौं। फेरि म दोहोर्‍याउन चाहन्छु– नेपालको हित, नेपाली जनताको हितभन्दा विपरित सरकार कुनै पनि कारणले, कुनै पनि हिसाबले चल्न खोज्छ भने त्यसको हामी विरोध गर्छौंं र, सफल हुन दिँदैनौं।’

सत्ता समर्थक दलहरूले सत्ता स्वार्थको राजनीति गरिरहेको आरोप लगाउँदै अध्यक्ष ओलीले एमालेले भने राष्ट्र र जनताको हितका लागि काम गरिरहने बताए।

​ ‘यहाँ नेकपा एमाले छ। यसले राष्ट्रहितविरुद्धका कदमहरूलाई सफल हुन दिँदैन। यसो भन्दा कसैलाई चित्त दुख्छ भने दुखोस्‚ हामी कसैको चित्त होइन राष्ट्रिय हितको रक्षा गर्छौं‚’ उनले भने‚ ‘ म फेरि दोहोर्‍याउन चाहन्छु– अहिलेको राजनीति नेकपा एमाले बाहेकको राजनीति लगभग, त्यसमा पनि आफूलाई अलि ठूलो भन्ने अहिले सरकारमा हुने पार्टीहरू या सत्ता समर्थक पार्टीहरू सत्ताको राजनीति गरिरहेका छन्। स्वार्थको राजनीति गरिरहेका छन्‚ लाभको राजनीति गरिरहेका छन्।’

पुर्खाले तोपसँग खुकुरीले लडेर, तोपसँग चक्कुले लडेर कायम गरेको भूगोल, स्वाभिमान बहुतै महँगो मूल्यमा हामीले पाएको उल्लेख गर्दै उनले त्यसलाई दायाँबायाँ हुन दिन नसकिने बताए।

‘उनीहरूले सत्ताको खेल मात्रै गरिरहँदा र सत्ता स्वार्थको राजनीति, फोहोरी राजनीति हुन्छ। देशको स्वाधीनता खण्डित हुन्छ। स्वाधीनता हाम्रा पुर्खाले तोपसँग खुकुरीले लडेर, तोपसँग चक्कुले लडेर कायम गरेको भूगोल हो‚ स्वाभिमान हो। यो स्वाभिमान बहुतै महंगो मूल्यमा हामीले प्राप्त गरेका हौं‚’ उनले भने‚ ‘ हो, त्यही बाटो, त्यो स्वाभिमानको बाटो हिँडेर हाम्रा शहीदहरूले आफ्नो जीवन आहूति दिनु भएको हो। हामी त्यसलाई खेर जान दिँदैनौं। सत्ता स्वार्थको लागि राष्ट्रको शान्ति सुव्यवस्था, राष्ट्रिय स्वाधिनता, राष्ट्रको अस्तित्वमा खेलबाडपूर्ण ढंगले जोखिम पुर्‍याउन पाइँदैन।’

उनले सत्ता स्वार्थको राजनीति गर्दा देश डुब्छ भने यहाँको भूगोलमाथि अतिक्रमण हुन्छ भने त्यसमा टुलुटुलु हेरेर बस्ने नसकिने चेतावनी दिए।

‘कहिल्यै हामी पराधिन भएनौं‚ कसैले हाम्रा टाउकोमा टेक्न पाएनन्। अब २१ औं शताब्दीमा आएर केही स्वार्थी तत्वहरूको साना स्वार्थको वशमा परेर हामी हाम्रो टाउकोमा कसैको पैताला पर्न दिन तयार छैनौं। हामी सार्वभौमिक समानताको आधारमा सबैसँग पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध कायम गर्न चाहन्छौं। यसो भन्नु अर्घेल्याइँ होइन‚ कसैको नोक्सानीको मूल्यमा हामीले लाभ लिन खोजेको होइन। हामीले कसैलाई नोक्सान नपारी स्वाभिमानसहित बस्न खोजेका मात्र हौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *