निर्वाचनपछि बनेको हालको प्रतिनिधि सभाको १४ वटा बैठक बस्यो तर संसद्को मुख्य काम कानुन बनाउने कुरा भने ओझेलमा परेको छ । प्रतिनिधि सभामा हालसम्म सरकारले दुईवटा विधेयक दर्ता गरेको छ भने तीन विधेयक राष्ट्रिय सभाबाट सन्देशसहित आएको छ । तर यी विधेयकमाथि दफाबार छलफल गर्नका लागि संसदीय समितिहरू कहिले गठन हुन्छन् र तिनले कहिलेदेखि काम थाल्छन् भन्ने टुङ्गो छैन ।
प्रतिनिधि सभामा प्रतिपक्षको सिटमा बस्न कांग्रेस र एमालेको हानथापका कारणको साथै सभामुख देवराज घिमिरेको झन्डै एक साताको विदेश भ्रमण, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलगायतका कारण प्रतिनिधि सभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि स्थगित गरिएको छ ।
नवनिर्वाचित सांसदहरू प्रतिनिधि सभामा प्रवेश गरेको पनि ३ महिना भइसकेको छ । गत मङ्सिर ४ गते प्रतिनिधि सभाको निर्वाचनबाट सांसदहरू निर्वाचित भएपछि उनीहरूले गत पुस ७ गते शपथ लिएका थिए ।
सांसदहरूले शपथ लिएको २० दिनपछि अर्थात् पुस २७ गते प्रतिनिधि सभाको पहिलो बैठक बसेको थियो । पहिलो बैठकमा राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गरे भने त्यसको भोलिपल्ट भएको दोस्रो बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका थिए ।
प्रतिनिधि सभाका सभामुख घिमिरे निर्वाचित भएको डेढ महिना भइसकेको छ । गत माघ ५ गते सभामुखमा निर्वाचित भएका घिमिरेले गत माघ १० गते प्रतिनिधि सभा सञ्चालनको नियमावली बनाउनका लागि विभिन्न दलका सांसदहरू सहभागी भएको एक समिति गठन गरेका थिए ।
१५ दिनका लागि समितिलाई काम गर्ने समय दिए पनि समयमा काम नसकेर गत फागुन ४ गते नियमावली मस्यौदा समितिले नियमावलीको मस्यौदालाई अन्तिम रूप दिएको थियो ।
गत फागुन १० गते समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधि सभामा नियमावलीको मस्यौदा पेस गरे पनि प्रतिनिधि सभाबाट पारित हुन सकेको छैन ।
