प्रधानमन्त्री हुने बाटोतिर लागें जस्तो छ : गगन थापा


नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताएका छन्।

काठमाडौंमा शुक्रबार शुरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन–२०७९’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अन्तिम वक्ता रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रममा नआएपछि महामन्त्री थापा सो सम्मेलनको अन्तिम वक्ता भएका थिए।

उनले भने, ‘आज प्रधानमन्त्रीजी अरु केही व्यस्तताका कारण आउन पाउनु भएन। हिजो सभागृहमा यस्तै कार्यक्रम थियो। मेरो पार्टी सभापति बस्ने कुर्सी त्यहाँनिर थियो। पार्टी सभापति आइपुग्नु भएन‚ त्यसपछि अन्तिम वक्ता म भएँ। आज प्रधानमन्त्री आइपुग्नु भएन‚ अन्तिम वक्ता म भएँ। सब्स्टिच्युट भईराख्या छु। त्यो रियल हुने बाटोतिर गएको हो कि भन्ने कुरा राख्न चाहन्छु।’

प्रधानमन्त्री नआएको हुनाले आज अन्तिम वक्ता भएको, बिहीबार पनि पार्टी सभापति शेरबहादुर देउवा नआएपछि आफूले अन्तिम वक्ताको रुपमा एउटा कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएकाले आफू अब यथार्थमा प्रधानमन्त्री हुन लागेको हो कि भन्ने लागेको महामन्त्री थापाको भनाई थियो।

उनले राजनीतिज्ञहरूलाई अर्थशास्त्रीय दृष्टिकोण बुझाउने काममा लाग्न पनि अर्थशास्त्रीहरुलाई आग्रह गरे। महामन्त्री थापाले मुलुकको अर्थतन्त्रबारे राजनीतिज्ञहरुलाई बुझाउनुको साटो अर्थशास्त्रीहरुले गाली गर्ने गरेको गुनासो पनि गरे।

महामन्त्री थापाले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि अर्थशास्त्रीहरुले यथार्थमा आधारित भएर सुझाव दिनुपर्नेतर्फ पनि सचेत गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *