नवनियुक्त अर्थ मन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लागेर समाधान गर्ने बताउनुभएको छ ।
शुक्रवार पद तथा गोपनीयताको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थ मन्त्री महतले वर्तमान अर्थतन्त्र समस्यामा रहेको भन्दै सम्पूर्ण राज्य संयन्त्र लागेर सुधार गर्ने बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र विभिन्न असरको कारण सङ्कटमा रहेको भन्दै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गर्नुभयो । सरकारको साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेरमात्रै सरकारले खर्च गर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयाे, ‘अहिले नेपालको अर्थतन्त्र सङ्कटमा छ । अर्थतन्त्रलाई सबल बनाउने खालका निर्णय सरकारले लिन्छ । सरकारको साधारण खर्च धेरै छ । यसमा निर्मम हुनैपर्छ । हामी अनिवार्यबाहेकका खर्च कटौती गर्नेछाैँ । सरकारले पुँजीगत खर्च राम्रोसँग गर्न सकेको छैन । अर्थ मन्त्रीको रूपमा मैले अर्थतन्त्र थप खराब हुनबाट रोक्ने गरी निर्णय गर्नेछु । अनावश्यकरूपमा करको दर बढाउनेभन्दा पनि करको दायरा बढाउने बाटोमा सरकार लाग्नेछ ।’
अर्थ मन्त्री महतले सरकारले खर्च गर्न सक्ने क्षमता बढाएर लगानी बढाउँदै राजस्वकाे दायरा बढाउने उल्लेख गर्नुभयो । उहाँले राजस्व र कर सङ्कलनका लागि सरकारले करकाप नगर्ने पनि बताउनुभयाे । उहाँले लघुवित्त र सहकारीहरू समस्यामा रहेको भन्दै राष्ट्र बैंकसँग समन्वय गरी सहकार्य गरेर समस्या समाधान गर्ने बताउनुभयो ।
अर्थ मन्त्री महतले नागरिकमा छाएको निराशालाई आशामा बल्दै सकारात्मक सोचका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले सङ्कटमा रहेको अर्थतन्त्रमा सुधार गर्न आफू जस्तोसुकै कठोर निर्णय गर्न पछि नपर्ने दाबी पनि गर्नुभयाे ।
उहाँले पहिलो निर्णयका रूपमा नगद प्रवाह समिति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गर्नुभएको छ । उहाँले सरकारको नगद प्रवाहअनुसार हरेक महिना कति आम्दानी भयो ? कति खर्च भयो ? त्यसको स्टेटमेन्ट तयार गर्नुपर्ने बताउनुभयो ।
