अमेरिकाको क्यालिफोर्नियास्थित हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ।
ताइवानकी राष्ट्रपति साई इङ वेन र अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीबीच गत बुधबार भेटवार्ताको चाँजोपाँजो मिलाएका ती संस्थाका पदाधिकारी चीनको कोपभाजनको शिकार भएका हुन्।
चीनको चेतावनीलाई बेवास्ता गर्दै सभामुख म्याकार्थी र राष्ट्रपति साईले दक्षिण अमेरिकी मुलुकको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा क्यालिफोर्नियामा भेटवार्ता गरेकी थिइन्।
चिनियाँ विदेश मन्त्रालयले आज विज्ञप्ति जारी गरी रेगन पुस्तकालय, हडसन इन्स्टिच्युट र वासिङटन थिङ्क ट्याङ्कले ताइवान पृथकतावादी गतिविधिलाई बढावा दिएकाले ती संस्था र तिनका पदाधिकारीमाथि प्रतिबन्ध लगाइएको जनाएको छ। साथै मन्त्रालयले कुनै पनि चिनियाँ संस्था र तिनका पदाधिकारीलाई ती अमेरिकी संस्था र तिनका पदाधिकारीलाई सहयोग वा सम्पर्क गर्न निषेध गरेको छ।
सन् १९४९ को गृहयुद्धपछि चीनबाट अलग भएको स्वतन्त्र टापु ताइवानलाई आफ्नो अविभाज्य भूमिका रूपमा दाबी गर्दै चीनले आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा गाभ्नसक्ने बताउँदै आएको छ। ताइवानसँग औपचारिक सम्बन्ध कायम नगरे पनि अमेरिकाले ताइवानसँग अनौपचारिक सम्बन्धलाई विभिन्न माध्यमबाट निरन्तरता दिइरहेको छ।
गत वर्ष तत्कालीन सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेर चीन–अमेरिका सम्बन्धलाई जटिलतातर्फ धकेल्न मलजल गरिन् भने चिनियाँ प्रविधि, सुरक्षा, हङकङ मामिला, मानवअधिकार, चीनका मुस्लिम जातीय अल्पसंख्यकप्रति बेइजिङको व्यवहारलाई लिएर कटु आलोचना गर्न नचुक्ने वासिङटनका कारण चीन र अमेरिकाबीचको सम्बन्ध दिन प्रतिदिन तनावपूर्ण बन्दै गएको छ।
चीनको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउने कुनै पनि गतिविधि सह्य नहुने दोहोर्याउँदै चीनले ताइवानले कुनै पनि विदेशीसँग सम्बन्ध स्थापना एवम् सञ्चालन गर्न नसक्ने बताउँदै आएको छ। ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न पाउँदैनन्।
सन् १९७९ मा अमेरिकाले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरे पनि ताइवानको अन्तरराष्ट्रिय सहयोगी एवं साझेदारका रूपमा चीन उभिएको छ। अमेरिका नै ताइवानको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि भएको छ।
यस्तो पृष्ठभूमिमा रहेको ताइवान र अमेरिकाबीचको सम्बन्ध अनौपचारिक भए पनि औपचारिक सम्बन्ध जत्तिकै महत्त्वपूर्ण एवम् अर्थपूर्ण रहेको अमेरिका–ताइवान सम्बन्धबारे अध्ययन गरिरहेका जेम्स ली बताउँछन्।
चीन सरकारले विदेशी अधिकारीहरूसँगको सम्पर्कले औपचारिक स्वतन्त्रता चाहने ताइवानीलाई प्रोत्साहन गर्ने बताउँदै त्यस्ता अवाञ्छित गतिविधिले युद्ध निम्त्याउने जनाएको छ।
चिनियाँ प्रतिबन्धबारे पुस्तकालयका पदाधिकारीसँग इमेलमार्फत एएफपीले प्रतिक्रिया लिने प्रयास गर्दा बिहीबार रातिसम्म त्यसको जवाफ प्राप्त भएको छैन। क्यालिफोर्नियामा अमेरिकी सभामुखसँगको भेटवार्ताका अतिरिक्त ताइवानी राष्ट्रपतिले हडसन इन्स्टिच्युटबाट ‘नेतृत्व पुरस्कार’ ग्रहण गर्दै क्षेत्रीय सुरक्षामा ताइवानका चुनौतीबारे भाषण दिएकी थिइन्।
यसैबीच चीनले आज पनि ताइवान नजिक युद्धपोत र युद्धविमान परिचालन गरेको छ। सभामुख म्याकार्थी र ताइवानी राष्ट्रपतिबीचको भेटबाट क्रुद्ध भएको चीनले हिजो पनि ताइवान नजिक युद्धपोत परिचालन गरेको थियो। तीनवटा चिनियाँ युद्धपोत, एउटा पनडुब्बी प्रतिरोधी हेलिकप्टर र एउटा लडाकु जेट ताइवान वरपरको जलक्षेत्रमा देखिएका ताइवानी रक्षा मन्त्रालयले पुष्टि गरेको छ।
ताइवानी जनताको स्वतन्त्रता सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको राष्ट्रपति साईले लसएञ्जलसबाट ताइपेईतर्फ उड्नुअघि पत्रकारहरूलाई बताएकी छिन्। उनले चीनको नाम नलिई दुवै पक्षबीच शान्ति र स्थायित्व कायम गर्न सक्दो प्रयास हुनेमा आफू आशावादी रहेको बताइन्।
