नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बूढो पार्टी भएको टिप्पणी गरेका छन्।
शनिबार नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कांग्रेसमा युवा नेता भए पनि विचार बूढो भएको बताएका हुन्।
‘कांग्रेस बूढो पार्टी भयो। उमेरले भनेको होइन। कांग्रेसका भर्खर भखर्रका नेता पनि बूढो र थोत्रो विचार बोकेका छन्। मान्छे नयाँ भएर के गर्ने? मान्छे उमेरले होइन। विचारको उमेर गलेको ढलेको छ’, उनले भने।
यस्तै अध्यक्ष ओलीले माओवादी केन्द्रसँग विचार नै नभएको टिप्पणी गरे। उनले माओवादी केन्द्रको महान् जनयुद्ध भए पनि फागुन १ गते श्राद्ध गरिसकेको टिप्पणी गरे।
‘माओवादी केन्द्रका केही विचार छँदै छैन। महान् जनयुद्ध थियो। फागुन १ गते श्राद्ध राम्ररी गर्नुपर्छ है भनेछन्। एकपटक दर्शन आयो–धक्का, क्रमभंग‚ छलाङ। कहाँ पुगिन्छ भन्दा महाविपत्तिमा पुगिन्छ र समाप्त हुन्छ। महाविपत्तिवाला दर्शन चटक जस्तो आयो। कहिले कहिले आउँछ,’ उनले भने।
अध्यक्ष ओलीले नेपालमा कहिलेकाहीँ लहर चले पनि एमाले जस्तो पार्टी कुनै पनि नभएको बताए। उनले गत मंसिरको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै घाच्चघुच्च लहर चलेको बताए।
‘नेपालको एक खालको मनोविज्ञान के छ भने नानीमैयाको लहर आयो। काठमाडौं नै सोरसार गरिदिनुभयो। त्यसपछि प्रचण्डजीको लहर आयो। त्यसपछि अस्तिको चुनावमा घाच्चघुच्च लहर देखियो। यस्ता लहर नेपालमा आउने गर्छन् तर यस्ता लहर र सेन्टिमेन्टबाट एक छिन आएको पानीबाट खेतको सिँचाइ पुग्दैन। एमाले जस्तो अनवरत बग्ने विचार भएको नदी चाहिन्छ। जसको मुहान दह्रो र शिर लामो छ। जो जस्तै खडेरीमा सुक्दैन,’ उनले भने।
ओलीले आउँदो चुनावमा एमाले एक्लेलै बहुमत ल्याउने भन्दै रोकेर देखाउन चुनौती दिए।
