गाई–भैँसीमा ‘लम्पी स्किन’ रोगको प्रकोप, कर्णालीका ७ जिल्ला प्रभावित


यतिबेला गाई–भैँसीमा ‘लम्पी स्किन’ नामक रोगको प्रकोप फैलिरहेको छ । कर्णालीमा पनि दिन प्रतिदिन यो रोगको फैलावट बढिरहेको छ । संक्रामक यो रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी पर्ने गरेका छन् भने कतिपय ठाउँमा चौपाया मरेको रिपोर्ट प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आएको छ ।

यस अघिसम्म गाई र गोरुमा मात्रै देखिएको ‘लम्पी स्किन’ पछिल्लो समय भैँसीमा समेत देखिएको छ । मन्त्रालय अन्तर्गतको पशुपन्छी विकास महाशाखाका पशु विकास अधिकृत प्रचण्ड खड्काका अनुसार कर्णालीका १० जिल्लामध्ये ७ जिल्लामा यो रोग महामारीका रुपमा फैलिरहेको छ । सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालिकोट र हुम्ला ‘लम्पी स्किन’ को प्रकोप देखिएको छ । यसमध्ये पनि सबैभन्दा बढी सल्यान जिल्ला प्रभावित बनेको छ । हुम्लामा पनि पछिल्लो चरणमा यो रोग देखिएको छ ।

‘प्रदेश राजधानी वीरेन्द्रनगरका छाडा पशुचौपाया हामी पाल्छौँ भन्दै केहीले हुम्ला लगेका थिए,’ खड्काले भने, ‘ती गाईसँगै रोग पनि हुम्ला पुगेको हो ।’ मुगु, जुम्ला र डोल्पाबाट भने अहिलेसम्म कुनै संक्रमण भेटिएको जानकारी नआएको उनले बताए । जाजरकोट पशु सेवा कार्यालयका अनुसार जुनिचाँदे, भेरी, शिवालय, छेडागाड, नलगाड लगायतका पालिकामा रोगको प्रकोप अत्यधिक बढेको छ । जाजरकोटमा यही रोगका कारण केही चौपाया मरिसकेको पशु सेवा कार्यालयले जनाएको छ ।

अधिकृत खड्काका अनुसार सल्यानका सबै पालिकामा रोग फैलिएको छ । प्रदेशबाट विज्ञको टोली पुगेर केही दिन त्यहाँ रोग नियन्त्रणबारे अन्तरक्रिया समेत गरेको छ । त्रिवेणी गाउँपालिकामा पशु सेवा शाखाले ३३२ वटा पशुमा उपचार गर्दा ७ वटा मरेको जानकारी दिएको अधिकृत खड्काले बताए ।

‘लम्पी स्किन’ रोग क्याप्रिपक्स भाइरसका कारण गाईभैँसीमा लाग्ने अत्यधिक संक्रामक रोग हो । यस रोगका मुख्य लक्षणहरूमा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागमा गिर्खा देखिन्छन् । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, कचेरा र सिंगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने बाँझोपन हुने र गर्भ तुहिने सम्भावना बढी रहने पशु चिकित्सक बताउँछन् ।

यस्तै पशुले घाँसपानी नखाने, नाक, खुट्टा सुन्निने र पशु हिँडडुल गर्न नसक्ने यसका लक्षण हुन् । यस्तै रोग ठिक भएका पशुहरु दुब्लो हुने, निमोनिया हुने र छालामा धब्बा वा प्वाल हुने गर्दछन् । विशेषगरी यो रोग लामखुट्टे, टोक्ने झिंगा, किर्ना आदिको टोकाइबाट बढी सर्ने गर्दछ । पशु अधिकृत खड्का यो रोगका कारण ८० प्रतिशत दुध उत्पादनमा ह्रास आउने आकलन गरिएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *