काठमाण्डाै जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज बिहीवार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ ।
रिजाललाई झापाबाट काठमाण्डाै आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो भने मियाँलाई सिंहदरबारमा रहेकाे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पक्राउ गरेको काठमाण्डाैका प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनुभयो ।
यस प्रकरणमा यसअघि प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको छ । आज पक्राउ परेका दुईसहित यस प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १६ पुगेको छ ।
रिजालमाथि यसअघि हिरासतमा परेका सानु भण्डारीसँग आर्थिक कारोबार भएको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विगतमा रिजालले बाँकी रहेका शरणार्थीको पुनर्बासका लागि पहल गरेका थिए । त्यही आधारमा सरकारले कार्यदल गठन गरेको थियो ।
यता हज समितिका अध्यक्ष मियाँलाई भने गिरोहसँगको मिलेमतो गरेको आरोप छ । उनले हज समितिका लागि प्रयोग गर्न दिएको गाडी गिरोहलाई प्रयोग गर्न दिएको खुलेको प्रहरीले जनाएको छ । त्याे सरकारी गाडी अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृहसचिव) टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईलगायत १६ जना पक्राउ परिसकेका छन् ।
यस प्रकरणमा अब प्रहरीले छ दिनमा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पुर्याउनुपर्ने छ । जिल्ला प्रहरी परिसर काठमाण्डाैले शरणार्थी प्रकरणको घटनाको ठगी र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
