श्रीमती हत्याका आरोपित पक्राउ


पत्नी हत्या आरोपित कनकासुन्दरी गाउँपालिका–६ पछाईवाडाका ३० वर्षीय रतन पछाईलाई प्रहरीले गिरफ्तार गरेको छ।

२० वर्षीया पानसरा भन्ने दानसरा रावत (पछाई)लाई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय जुम्लाले रतिमान पछाईलाई पक्राउ गरेको हो। जेठ ३ गते किटानी जाहेरी दिएपछि प्रहरीले जेठ ३ गते नै चन्दननाथ नगरपालिका–६ विजयनगरस्थित सडकबाट गिरफ्तार गरेको हो।

रतनकी पत्नी रावत गत वैशाख १९ गते हराएकी थिइन्। लामो समयदेखि हराएकी रावतको शव ११ दिनपछि जेठ २ गते तिला नदीमा भेटिएको हो।

तिला गाउँपालिका–२ लर्मीगाउँमा माइती भएकी दानसराको मृत्यु रहस्यमय भएको भन्दै छानबिन गरिदिन आग्रह गर्दै आफन्त जिल्ला प्रहरी कार्यालय जुम्लामा किटानी जाहेरी दिएका छन्।

मृतकका पति रतिमानले यसअघि उनको हुलिया बताउने क्रममा प्रहरीलाई दिएको निवेदनमा नाम पानसरा बताएका थिए। मृतक रावतको आधिकारिक र सबैले चिन्ने नाम दानसरा नै रहेको माइती पक्षका मुनबहादुर रावतले बताए।

मृतकका पति रतिमानले गलत नाम दिएकाले हत्या गरिएको आशंका गरिएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृतककको शव चेकजाँच प्रकृति मुचुल्का गरी घटनास्थलको प्रारम्भिक अनुसन्धान सम्पन्न भएको छ।

मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोष्टमार्टमपछि सासूआमा चैती पछाईलाई बुझाई दाहसंस्कार गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *