बजेट अभावले कर्णाली प्राविधिक शिक्षालय थलियो


जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालय जीर्ण हुँदा पनि तीनवटै सरकार उदासीन देखिएका छन्। २०३७ सालमा स्थापित शिक्षालयमा अध्ययनका लागि विभिन्न जिल्लाका विद्यार्थी आउने गरेका छन्।

रकम अभावका कारण बनेका संरचना जीर्ण बनिसकेका छन्। उचित तारबार र शिक्षालयको व्यवस्थापकीय पक्ष निकै कमजोर बन्दै गएको छ।

कुनै वेला ढुंगाको सिलोट छापिएका यहाँका भवनमा अहिले जस्तापाता प्रयोग गरिएको छ। कर्णाली प्राविधिक शिक्षालय जुम्लाको शैक्षिक पर्यटन गन्तव्य पनि हो।

अहिले पनि हरेक आन्तरिक पर्यटकको रोजाइ बन्छ। शिक्षालय प्रमुख टेकेन्द्र थापाले पर्याप्त बजेट व्यवस्थापन गर्न नसक्दा प्राविधिक शिक्षालय जीर्ण छ।

‘जिल्लामा आउने सबै सांसददेखि कर्णालीका मुख्य मन्त्रीलाई यहाँको समस्या राखेका छौँ, सुनुवाइ भएन। न त स्थानीय बासिन्दाको चासो छ’, उनले भने, ‘शिक्षालय प्रशासनले मात्र रोइकराइ केही हुनेवाला छैन।’

यस्तो अवस्थामा गुणस्तरीय शिक्षा प्रदान गर्न समस्या हुने थापाले बताए।

कर्णालीको ज्यूँदो इतिहास बोकेको शैक्षिक संस्थाको उन्नति र प्रगतिका लागि कसैको चासो नभएको सूचना तथा प्रविधि अफिसर सागर रावतले बताए।

शिक्षालयका भौतिक संरचना भत्कने अवस्थामा पुगेका छन्। बजेट अभावले जीर्ण भवनको मर्मत हुन सकेको छैन। ५८ वटा भवन भएको शिक्षालयका ६ वटा पुराना भवनको मर्मत गरिएको छ। ती भवनका छत, भित्ता, शौचालयदेखि अन्य भौतिक संरचना पनि निर्माण गर्नुपर्ने भए पनि बजेट अभावले समस्या भएको छ।

प्रमुख थापाले भने, ‘जीर्ण भवन शिक्षालयका विद्यार्थी बस्ने भवन हुन्। कुनै भत्किएको खण्डमा २५० जना विद्यार्थीको जीवन जान सक्छ। राज्यले संरचना बनाउन ध्यान दिँदैन तर दुर्घटना भएको खण्डमा हेलिकप्टर लिएर उद्धार गर्न आउने प्रवृत्ति छ।’

कर्णाली प्राविधिक शिक्षालय जुम्ला चन्दननाथ नगरपालिकाको उत्तर भेगको घुघुत्ती भन्ने ठाउँमा छ। ६५२ रोपनी क्षेत्रफलभित्र रहेको शिक्षालय निकै उदेकलाग्दो बनेको छ। त्यहाँका कर्णाली प्राविधिक शिक्षालयमा ६७२ विद्यार्थी अध्ययनरत छन्।

डिप्लोमामा ६ वटा विषय र टीएसएलसीमा २ वटा विषयको अध्ययन भइरहेको छ। डिप्लोमामा निर्माण, सिभिल इन्जिनियर, कृषि, फरेस्ट्री विशेष छात्रवृत्ति विषय अध्ययन भइरहेको छ। प्रि–जेटिए तथा प्रि–सिभिल इन्जिनियरसहितको विषय अध्ययनसमेत भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *