प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताएका छन्।
भारतको ४ दिने औपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीमाझ उक्त दावी गरेका हुन्।
प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन पनि आफ्नो भारत भ्रमणले महत्त्वपूर्ण योगदान पुर्याएको बताए। उनले विगतमा थाती रहेका विषयहरूलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री मोदीसँग खुलस्त कुराकानी भएको पनि बताए।
प्रधानमन्त्री दाहालले भने, ‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बनाउन यस भ्रमणले योगदान गरेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त रूपमा कुराकानी भई विश्वासको वातावरण सृजना भएको छ भने थाती विषय सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको छ। यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु। यो भ्रमण परिणाममुखी रहेको छ, भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत गरेको छ।’
प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण भविष्यका लागि पनि मार्गदर्शनको रूपमा रहने जिकिर गरे।
