प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन्।
प्रधानमन्त्री प्रचण्ड नेपाल वायुसेवाको विमानमार्फत साँझ साढे ६ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखीले बिदाइ गरेकी थिइन्।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकल भेटवार्ता र प्रतिनिधिमण्डलसँग छलफल गरेका थिए।
भ्रमणका वेला प्रचण्डले भारतीय राष्ट्रपति दौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री प्रचण्ड भारतको मध्यप्रदेशस्थित इन्दौर शहर पनि पुगेका थिए। प्रचण्ड आजै इन्दौरबाट नयाँदिल्ली फर्किएका थिए।
भ्रमणमा दुई देशबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन्। उनी जेठ १७ गते भारत प्रस्थान गरेका थिए।
