दैलेखका विद्यालय कर्मचारी धर्नामा


लामो समयदेखि विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरू विगत छ दिनदेखि धर्नामा बसेका छन्। उनीहरूले सरकारसँग विभिन्न मागहरू राख्दै विद्यालयमा ताला चाबी बुझाएर विगत छ दिनदेखि धर्नामा बसेका छन्।

विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने, दरबन्दी कायम गरेर निजामती कर्मचारी सरहको सुविधा दिनुपर्ने, उमेरहद पुगेकालाई राहत दिनुपर्ने लगायतका मागहरू राख्दै उनिहरु शिक्षा विकास तथा समन्वय इकाई दैलेखमा धर्नामा बसेका हुन्।

सरकारले नीतिमा विद्यालय कर्मचारीहरूको माग सम्बोधन गर्ने भनेपनि बजेटमा व्यवस्था नगरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्य समिति दैलेखका अध्यक्ष रमेश बिसीले बताए।

आफूहरू आजसम्म धर्नामा बस्ने र सरकारले माग पूरा नगरेको खण्डमा देशभरका विद्यालय कर्मचारीहरू काठमाडौँ पुगेर थप आन्दोलन गर्ने तयारी रहेको बिसीले बताए।

जिल्लाभरका ८० जना विद्यालय कर्मचारीहरू छ दिनदेखि धर्नामा बस्दा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा खुवाउन समस्या परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *