राष्ट्रपति पौडेललाई हृदयघात, गंगालालमा एन्जिओप्लाष्टी गरियो


राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ।

बिहान अचानक मुटुमा समस्या देखिएपछि उनलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा लगिएको थियो। उनमा हृदयघात भएको पाइएपछि मुटुको बन्द धमनी खोलिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

‘मुटुमा समस्या भएपछि राष्ट्रपतिज्यू बिहान ७ बजे अस्पताल आउनुभएको थियो । हर्टअट्याक भएको थाहा भएपछि एन्जिओप्लाष्टि गरेर मुटुको बन्द धमनी खुलाइएको छ’, अस्पताल स्रोतले भन्यो, उहाँ अहिले भिआईपी क्याबिन चिकित्सकको निगरानीमा हुनुहुन्छ।’

यस विषयमा राष्ट्रपतिको कार्यालय, सचिवालय र अस्पतालले भने आधिकारिक सूचना दिएको छैन । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आफूलाई यस विषयमा बुझ्न बाँकी रहेको भन्दै केहीबेरमा फोन गर्न आग्रह गरिन्। तर केहीबेरपछि उनले मोबाइल फोनको स्वीच अफ गरिन्।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले सामान्य चेकजाँच मात्रै गरिएको भन्दै ठोस् सूचना उपलब्ध गराएनन्। गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले आफूले यस विषयमा नबोल्ने भन्दै राष्ट्रपतिको सचिवालयमा बुझ्न आग्रह गरे।

राष्ट्रपति पौडेललाई गत महिना मात्रै उपचारका लागि भारत लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *