७३ जिल्लामा फैलियाे लम्पी स्किन राेग : साढे ९ हजार गाईभैँसी मरे, ३ लाख ५५ हजारमा सङ्क्रमण


गर्मीयाम सुरु भएलगत्तै देशभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ ।

चालु आर्थिक वर्षमा गएकाे माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट अहिलेसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन् । यसैगरी, अहिलेसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित भएका छन् । अहिले यस रोगको प्रकोप देशभर ७३ जिल्लामा फैलिएको छ ।

यसको प्रकोप अझै बढ्ने क्रममा रहेको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जनाएको छ । यसरी देशभर लम्पी स्किनको प्रकोप देखिए तापनि पालिका, जिल्ला तथा प्रदेशहरूबाट समयमै रोगको रिपोर्टिङ नहुँदा सङ्क्रमित पशुको सङ्ख्या र रोगबाट भएको क्षतिको विवरण यकिन गर्न कठिनाइ भएको छ । साथै रोगको नियन्त्रण तथा रोकथाममा थप समस्या थपिएको छ ।

विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार लम्पी स्किन रोग पक्सभाइरिडिइ जातअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण पशुमा अत्यधिक सङ्क्रमण गराउने सीमाविहीन रोग हो । यस रोगले पशु मरेका साथै दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सृजना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ ।

यो रोग भैँसीको तुलनामा विशेषगरी गाई, गोरु तथा बाच्छाबाच्छीमा अत्यधिक सङ्ख्यामा देखापरेको छ र यो रोगको फैलिनेक्रम जारी छ । यो रोग विशेषगरी राजमार्ग तथा सहायक राजमार्गमा अवस्थित गाईबस्तु तथा खुल्ला चौरमा चरिचरन गर्ने गाईबस्तुमा बढी देखा परेको उहाँले बताउनुभयो ।

लम्पी स्किन रोग लागेपछि देखिने असर

यो रोग सङ्क्रमित पशुसँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कबाट, प्रजननयोग्य साँढेको सिमेनबाट साथै लामखुट्टे, झिँगा, किर्ना, भुसुनाको टोकाइबाट पनि सर्ने गर्दछ । यो रोग लागेका पशुमा १०५ दशमलव ८ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, छालामा एकदेखि पाँच सेमीसम्म वा अझै ठूलो गाँठोहरू देखापर्ने, मुख, नाकको फोरा वरिपरि, पुच्छर, अण्डकोष, फाँचो वरिपरि समेत दुख्ने खालका गाँठोहरू देखिने, लङ्गडोपना, थुनेलो हुने, बाली नजाने, गर्भ तुहिने जस्ता लक्षणहरू देखिन्छन् ।

देशभर महामारीका रूपमा फैलिरहेको लम्पी स्किन रोगबाट सङ्क्रमित तथा मरेका पशुहरूको विवरण, यस रोगको उपचार, रोकथाम तथा नियन्त्रणका लागि सेवा विभागले सबै प्रदेशका पशुपक्षी हेर्ने मन्त्रालय, निर्देशनालय, भेटेरिनरी अस्पाताल, तालिम केन्द्र तथा पालिकाहरूसँग छलफल गरिरहेको वरिष्ठ पशुचिकित्सक डा उपाध्यायले जानकारी दिनुभयो ।

यस रोगको प्रकोपबाट सबैभन्दा बढी कर्णाली प्रदेशमा चार हजार सात सय ७५ पशु मरेका छन् भने त्यसपछि सुदूरपश्चिममा दुई हजार सात सय ४७, कोशीमा एक हजार एक सय ३२, गण्डकीमा तीन सय ३०, बाग्मतीमा दुई सय ८१, लुम्बिनीमा एक सय १०, मधेस प्रदेशमा ३५ पशु मरेका विभागको तथ्याङ्क छ । सङ्क्रमित पशुहरूमा औषधि र शक्तिबर्द्धक खानेकुराले निको हुने दर ३० प्रतिशत भएको विभागले जनाएको छ ।

विभागले यो रोग देखिने बित्तिकै बथानबाट छुट्याएर अलग्गै राख्ने, ज्वरो आएको पशुलाई आराम गराउने, प्रशस्त मात्रामा सफा पानी खान दिने, पातलो कुँडो वा नरम घाँस खान दिने, सक्खर पानी खुवाउने, गोठ वरिपरि सफा राख्नेलगायतका सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *