भुटानी शरणार्थी प्रकरण : खाँण र रायमाझीसहित १६ जनालाई थुनामा पठाउन आदेश


जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुमध्ये १६ जनालाई शुक्रबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ।

सरकारी वकिलको जवाफी बहस शुक्रबार सकिएपछि जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

अदालतले टंक गुरुङलाई १० लाख रुपैयाँ र लक्ष्मी महर्जनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

पक्राउ परेका १८ जना प्रतिवादी पक्षका कानुन व्यवसायीले गरेको बहस बिहीबार सकिएको थियो। यसपछि शुक्रबार सरकारी वकिलले जवाफी बहस गरेका थिए।
शुक्रबारै आदेश आउने भएपछि जिल्ला अदालत काठमाडौं वरपर सुरक्षा व्यवस्था कडा बनाइएको थियो।

संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा गत जेठ १० गते ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपसहित १८ जना पक्राउ परेका थिए।

आरोपीमध्ये १८ जना पक्राउ परेका भए पनि यो प्रकरणमा संलग्न १२ जना भने अझै फरार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *