राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकताको विषय सत्तापक्ष आफैंले नै राजनीतिकरण गरिरहेको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसदमा ल्याउन पनि सरकारलाई दबाब दिए। त्यसको कन्टेन्टमा छलफल गरेर फाष्ट ट्रयाकबाट सो विधेयक पारित गर्न आफूहरुको कुनै आपत्ति नरहेको अध्यक्ष लिङदेनको भनाई थियो।
उनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरुबाट भएझैं गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाए।
अध्यक्ष लिङदेनले भारतलाई खुशी बनाउन र नागरिकता नपाएका नागरिकहरुलाई पनि खुशी बनाउने सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराए पनि पीडितलाई नागरिकता दिने नियत नभएको नदेखिएको पटकपटक दोहोर्याए।
उनले भने, ‘सभामुख महोदय, म जुवारी, सवालजवाफ अथवा अरुको कुरा काटने कुरामा त्यति चासो राख्दिनँ। तर कहिलेकहिले यस्तो चिजहरु आईलाग्छन्। आज पनि मैलेअघि लामो समयदेखि यहाँ सुनिराखेको छु। एउटा भाष्य निर्माण भईराखेको छ कि यो नागरिकता विधेयकको प्रक्रियामा प्रतिपक्षहरुले विरोध गर्यौं र हामीले त्यसमा आफ्नो फरक मत राखिराखेका छौं। त्यसलाई अहिले सत्तापक्षले नागरिकता नपाएका नेपाली नागरिकहरु, जो नागरिकताविहीन नेपालीहरु छन् उनीहरुलाई भोट बैंकको रुपमा परिणत गर्ने अवसरको रुपमा उपयोग गर्न खोजेको देखियो। हामीले कुनै पनि नेपाली नागरिक जसका बाबुआमा नेपाली नागरिक छन् तर अहिले उमेर पुगेर पनि नागरिकताबाट बञ्चित छन्। उनीहरुले नागरिकता पाउनु हुँदैन भनेर भनेका छैनौं हामीले। हामीले यो नागरिकता विधेयक आउनु हुँदैन भनेर पनि भनेका छैनौं। हामीले प्रक्रियाका कुरा गरेका छौं र त्यसमाथि अझ कन्टेन्टमा पनि केही छलफल गर्नुपर्ने कुराहरु छन्। छलफल गरेर लैजाऊ भनेर भनेका छौं। विवाद हुन्छ भन्ने कुरा सत्तापक्षलाई थाहा थियो र इमान्दार थियो भने उसले सर्वदलीय बैठक राख्न सक्थ्यो कि सक्दैन थियो ? यसको बारेमा के गर्ने? यसलाई कसरी अगाडि बढाउने, चाँडै टुंगो लगाउनुपर्नेछ भन्ने ढंगले यसबाट निकास निकाल्न सकिन्थ्यो कि सकिँदैन थियो? सुटुक्कै, त्यो पनि भारत भ्रमणमा निस्कनु १/२ घण्टाअगाडि गर्नुपर्ने के कारण छ? अहिले रोकिएको एमालेको कारण, राप्रपाको कारण, रास्वपाको कारण रोकिएको हो? त्यो अदालतमा हामीले गएर उजुरी हालेको हो? तपाईंहरुलाई थाहा थियो–हामीले अहिले गर्नलाई गरिदिऊँ। भारत पनि खुशी हुन्छ। यो नागरिकता नपाएका मानिसहरु पनि खुशी हुन्छन्। आखिरी अदालतले रोकि हाल्छ। कसै न कसैले उजुरी गरीहाल्छ। जानाजान गरेको विषय हो। त्यसकारण यसलाई राजनीतिकरण गर्नु हुँदैन। अहिले पनि सरकार समस्याको समाधान चाहन्छ भने त्यो विधेयक संसदमा ल्याओस्। सबै राजनीतिक दलहरुलाई आग्रह गर्न चाहन्छु–फाष्ट ट्रयाकबाट टुंगोमा पुर्याऊ। नागरिकताको समस्या छलफलबाट टुंगो लगाउनु पर्छ भन्ने कुरामा कुनै आपत्ति छैन। र, आपत्ति नरहेको कुरा म फेरि पनि दोहोर्याउन चाहन्छु। र, यसलाई राजनीतिकरण नगरियोस भनेर भन्न चाहन्छु।’
अध्यक्ष लिङदेनले नागरिकताको विषयमा राजनीतिकरण नगर्न सत्तारुढ दलहरुलाई आग्रह गर्दै त्यो समस्या समाधान हुने गरी विधेयक संसदमा ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गराए।
