यो सरकारको आयु लामो छैन : एमाले सचेतक बर्तौला


नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु केही दिनमात्रै रहेको बताएका छन्।

शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीसँग सचेतक बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताएका हुन्। उनले वर्तमान सरकार जनादेशअनुसार नबनेको बताए।
उनले वर्तमान सरकार पाँच वर्ष टिकोस् भन्ने एमालेलाई भए पनि परिस्थितिले सरकारको आयु लामो नदेखिएको बताए। उनले जनादेशअनुसार सरकार बनाउँदा स्थिर सरकार बनाउन सक्छ भन्ने एमालेको धारणा रहेको बताए।

उनले वर्तमान सरकार अन्तरविरोध, असमझदारी र सत्ता गठबन्धन दलका बीचमा अविश्वासले आक्रान्त भएको बताए। उनले नेकपा एमाले सरकार ढाल्ने काममा नलाग्ने बताए। उनले सरकारको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरे पनि नयाँ गुट सिर्जना गरेको आरोप लगाए। उनले एमालेलाई नेपाली काँग्रेसको माया लागेको बताए।

उनले भने, ‘वर्तमान सरकार भित्रभित्र थिङथिलो भएको छ। अन्तरविरोध,असमझदारी र सत्ता गठबन्धन दलका बीचमा अविश्वासले आक्रान्त भएर पूरै मक्किएको अवस्था छ। थिङथिलो भएर मक्किएको सरकारलाई एमालेले सामन्य रुपमा छुँदा पनि ढल्ने अवस्था छ। तर नेकपा एमालेले त्यो गर्दैन। सरकारको नेतृत्वमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ। सबै गठबन्धनको नेतृत्व गरिराख्नुभएको छ। त्योभित्र उहाँले नयाँ गुट सिर्जना गर्नुभयो। काँग्रेसलाई मार हान्नको लागि हतियार उदाउनु भयो। एमालेलाई माया काँग्रेसप्रति छ। काँग्रेसलाई भरोसा गरेर जनताले पहिलो बनायो। ८९ सिटमा संसदमा पठाएको छ। ३२ सिटलाई प्रधानमन्त्री स्वीकार गरेर ८ वटा मन्त्रालयमा चित्त बुझाउँदा पनि प्रधानमन्त्रीले हतियार साँध लगाई रहनुभएको छ।’

उनले सरकारले जनतालाई डेलिभरी दिन नसकेको मात्र नभएर राष्ट्र हितको प्रवर्द्धन गर्न समेत नसकेको बताए। उनले मुलुकको विकास, सुशासन र समृद्धिको पथमा हिँडाउने क्षमता योग्यता प्रदर्शन गर्न नसकेको बताए।

उनले बजेटमार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिन समेत नसकेको भन्दै सरकार अस्थिर, कमजोर बनेको आरोप लगाए। उनले अब वर्तमान सरकारको विकल्प आवश्यक देखिएको बताए।

‘जनादेशको म्याण्डेट अनुसार सरकार बन्न सकेन। जसका कारण सरकारले डेलिभरी दिन सकेको छैन। राष्ट्रहितको प्रवर्द्धन गर्न सकिरहेको छैन। विकास, सुशासन र समृद्धिको पथमा मुलुकलाई हिँडाउन सामर्थ्य योग्यता सरकारले प्रदर्शन सकेको छैन। बजेटमार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिन सकेको छैन‚’ उनले भने‚ ‘वैदेशिक लगानीको सुरक्षित वातावरण छ भन्न सकेको छैन। यो अस्थिर,कमजोर सरकार र जनादेशविपरीतको अप्राकृतिक सरकार हो। त्यसकारणले गर्दा सरकारको विकल्प आवश्यक देखिएको छ। जनताको जनादेश अनुसार सरकार बनाउँदा स्थिर सरकार बनाउन सकिन्छ। सरकारको आयु केही दिनको मात्रै रहेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *