काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले संसदमा विश्वासको मत नमाग्ने भएका छन् । संसदमा विधि र पद्धतिअनुसार आउने प्रस्तावको सामना गर्ने उनले बताएका छन् ।
पुनर्स्थापित प्रतिनिधिसभाको बैठकको अघिल्लो दिन ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको थियो, जसमा ११५ सांसद सहभागी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईको दाबी छ । प्रचण्ड–माधव समूहले पनि संसदीय दलका बहुमत भएको दाबी गरेको छ भने बामदेव गौतमसहित केही सांसद दुवैतिर लागेका छैनन् ।
आफ्नो समूहका सांसदहरुको बैठकमा दलका नेता ओलीले संसदमा अविवासको प्रस्ताव आए सामना गर्ने बताए । आफूसँग बहुमत रहेको भन्दै उनले भनेका छन्, ‘संसदमा अविश्वासको प्रस्ताव आयो भने डटेर सामना गर्छौं र जित हाम्रै हुन्छ ।’
राष्ट्रियसभा सदस्य सुमन प्याकरेलका अनुसार प्रधानमन्त्री आफैं संसदमा विश्वासको मत माग्ने कुनै सम्भावना छैन । ‘संसद विघटन गर्दा उहाँले जुन प्रश्न उठाउनु भएको थियो, त्यो ठीक थियो भन्ने पुष्टि भएको छ’ उनले भने, ‘त्यसैले प्रधानमन्त्री आफैंले विश्वासको मत लिने भन्ने प्रश्नै आउँदैन ।’
