प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा दुर्गमका र गरिब परिवारका भूकम्प पीडितलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिएका छन्।
भूकम्प पीडितको राहत र उद्धारमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न गएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको धन्यवादले उर्जा मिलेको बताउँदै प्रधानमन्त्री दाहालले आफूले रास्वपाले उठाएका सुझावहरू प्रायः मन्त्रिपरिषद् र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट निर्णय गराएको बताए। उनले भने, ‘अहिले तपाईंहरूले सरकारले लिएको पहलकदमी वा तत्परताका लागि दिनुभएको धन्यवाद आफैँमा पनि सरकारलाई एउटा नयाँ उर्जा मिलेको।’
उनले पीडित समक्ष सही समय र ठीक ढंगले राहत प्राप्त हुने वातावरण बनोस् भन्नेमा आफू सचेत रहेको पनि बताए। उनले थपे, ‘विगतमा भएका कमी र कमजोरी दोहोरिन नदिने र त्यसबाट शिक्षा लिएर पीडितहरूको राहत र उद्धारमा लाग्ने छौँ ’ त्यसका लागि कानूनमा समेत केही संशोधन गर्नुपर्ने आवश्यकता रहेको छ।’
प्रधानमन्त्री प्रचण्डले पीडितहरूको राहत र पुनस्थापनलाई मोडेलको रूपमा अगाडि बढाउनेमा आफू रहेको पनि बताए। उनले भूकम्प मात्र नभएर अन्य प्राकृतिक विपद्का लागि पनि तयारी अवस्थामा रहन ७७ जिल्लामै एउटा संरचना खडा गर्ने निर्णय गरिएको उल्लेख गरे।
सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभा सदस्य तथा उपसभापति डोरप्रसाद अर्यालले सडक पहुँच नभएका क्षेत्रलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गरे।
अर्यालले ६ बुँदे सुझावहरू पेश गर्दै प्राप्त विवरण ठीक ठाउँमा पुगे, नपुगेको अनुगमन गर्न, चिसोका बेला विशेष ध्यान दिन र राहत र पुनस्थापनका लागि कानूनमा आवश्यक सुधार गर्न सरकारको ध्यानाकर्षण गराए।
