विभागीय डर्वीमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल एपिएफ क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लगातार तीन जित निकाल्दै एपिएफ समूह ‘ए’ मा एक खेल बाँकी छँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । अब एपिएफले मंगलबार बागमती प्रदेशलाई पराजित गरेमा समूह विजेता बन्नेछ । पुलिसले पनि मंगलबार कोशी प्रदेशलाई पराजित गरे समूह उप विजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ ।
कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा सोमबार भएको खेलमा एपिएफले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा एपिएफले २५–१७ को सहज जित निकाल्यो । १७–२० को स्थितिमा रहँदा एपिएफले लगातार ५ अंक बटुल्दै जित हात पार्न सफल भयो ।
रेफ्रीको निर्णयमा एपिएफले असन्तुष्टि जनाउँदा खेल केही बेर रोकिन पुग्यो । लगातार विवाद गरिरहेपछि रेफ्रीले एपिएफलाई सुरुवातमा पहेलो कार्ड र त्यसपछि पनि विवाद गर्न नछाडेपछि रेफ्रीले एपिएफलाई रातो कार्ड देखाउनु परेको थियो ।
प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा भने एपिएफले अन्तिम समयतिर अग्रता लिदै २५–२० को जित निकाल्न सफल भयो । समूह ‘ए’ मा अपराजित रहेको एपिएफले ३ खेलबाट ९ अंक जोडेको छ । पहिलो हार बेहोरेको पुलिसको ३ खेलबट ६ अंक छ ।
