असार दोस्रो साता एसइई नतिजा आउने


माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा आगामी असार दोस्रो हप्ता प्रकाशित गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले अहिले धमाधम उत्तरपुस्तिका परीक्षण भइरहेको जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक भक्त गोदारले उत्तरपुस्तिका परीक्षण भइरहेको र छिटै नै प्रकाशित गर्ने लक्ष्य राखिएको जानकारी दिए। उनले भने, ‘आगामी दोस्रो हप्तातिर एसइई परीक्षाको नतिजा प्रकाशित गर्ने हाम्रो लक्ष्य छ, हेरौँ के कति सम्भव हुन्छ।’

२०८० सालको एसइई परीक्षा गत चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार परीक्षामा सहभागी हुन ५ लाख ४ हजार विद्यार्थीले फाराम भरेका थिए।

तर देशभरिबाट ४ लाख ६७ हजार जनाले मात्रै एसइई परीक्षा दिए। परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित भएका छन्। प्रवेशपत्र लिएकामध्ये पनि ८ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहे।

परीक्षाका लागि देशभरि २ हजार ५७ वटा परीक्षा केन्द्र तोकिएका थिए। जापानमा एउटा परीक्षा केन्द्र तोकियो। गत वर्षको एसइई परीक्षामा पनि जापानबाट १४ परीक्षार्थी एसइईमा सहभागी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *