हाम्रो पार्टीका दाजु भाउजूसहित सबैमाथि छानबिन गर्न तयार छौं : शर्मा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीका सबै नेतामाथि छानबिनका लागि तयार रहेको बताएका छन्।नेपाल विद्यार्थी संघ झापा-काठमाडौं सम्पर्क मञ्चको अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन्। ‘४६ सालपछि मन्त्री बनेका सबैको सम्पत्ति छानबिन गर्न हामीले संसदमा प्रस्ताव नै लगेका छौं’ उनले भने, ‘कांग्रेस चलनचल्तीकाे भाषामा भन्दा दाजुभाउजू मामामाइजू काका भतिज सबैको छानबिन गर्न तयार छ।’

आफूहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई दोषी करार नगरेको भन्दै शर्माले संसदीय छानबिन समितिबाट त्यसको पुष्टि हुने बताए। ‘हामीले रविलाई दोषी भनेका छैनौं, निर्दोष नै हुनुहोला’ शर्माले भने, तर त्यसका लागि त छानबिन समिति बन्नुपर्‍यो नि।’

गृहमन्त्रीले विदेशीलाई सूचना बेच्ने एजेन्टहरू संसदमा छन् भनेको विषय संसदको रेकर्डबाट हटाउनुपर्ने उनको भनाइ छ।

‘म भोलि संसदमा बोलेर सभामुखलाई सोध्ने तयारीमा छु विदेशीलाई सूचना बेच्ने एजेन्ट संसदमा छन् भन्ने कुरामा तपाईं सहमत हो ? भनेर’ शर्माले भने, यदि हो भने को हो देखाउनुपर्यो र गृहमन्त्रीले गिरफ्तार गर्नुपर्छ। यदि होइन भने त्यस्तो संवेदनशील विषय संसदको रेकर्डबाट हटाउनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *