त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा दलका कार्यकर्ता नभइ अबदेखि खुला प्रतिस्पर्धाबाट डीन, सहायक डीन, कार्यकारी निर्देशक, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखलगायत पदाधिकारीहरूको नियुक्ति हुने भएको छ।
त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी भएसँगै अबदेखि खुला प्रतिस्पर्धाबाट उक्त पदाधिकारीहरूको नियुक्ति हुने भएको हो।
हालसम्म पनि डीनलगायत पदाधिकारीहरूको राजनीतिक भागबन्डामा नियुक्ति हुँदै आएको थियो। त्रिविका सावधिक पदमा स्वतन्त्र र निष्पक्ष रूपमा प्रतिस्पर्धा गराई, जवाफदेहिता एवं विश्वसनीय नियुक्ति गर्दा नियुक्त हुने व्यक्तिमा शिक्षामा गुणस्तर, पेशाधर्मिता, संस्थागत जवाफदेही एवं आत्मविश्वास बढ्न गई कुशल नेतृत्व स्थापित हुने उद्देश्य लिइएको छ।
त्यसो त प्रतिस्पर्धा गराउन यो आवश्यक भएकाले त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को नियम १३३(२) र ३९७ ले दिएको अधिकार प्रयोग गरी त्रिवि कार्यकारी परिषद्ले विनियमहरू बनाएको त्रिविले जनाएको छ।
पदाधिकारी नियुक्ति गर्दा अपनाउनुपर्ने मापदण्ड तथा आधार तयार गरी सुझाव दिन त्रिविले केही समयअघि डा. पुष्कर वज्राचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो।
उक्त समितिले दिएको प्रतिवेदन त्रिवि कार्यकारी परिषद्ले पारित गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले जानकारी दिए।
मापदण्डसम्बन्धी विनियममा डीन नियुक्तिका लागि सिफारिशका आधार तथा मापदण्ड तोकिएका छन्। जसमा मान्यताप्राप्त विश्वविद्यालयबाट संस्थान वा संकायसँग सम्बद्ध कुनै विषयमा विद्यावारिधि (पिएचडी) गरेको, चिकित्सा शास्त्र अध्ययन संस्थानतर्फ एमडी, एफआरसिएस र समान योग्यतासमेत हुनुपर्नेछ। त्यस्तै, त्रिविमा कम्तीमा १० वर्षको स्थायी पूर्णकालीन प्राध्यापन अनुभवप्राप्त प्राध्यापक वा सह-प्राध्यापक हुनुपर्नेछ।
सम्बन्धित संस्थान वा संकायको डीनका हैसियतले संस्थान वा संकायको उन्नयन तथा उत्थान गर्ने सम्बन्धमा २ हजारदेखि ३ हजार शब्दको विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्य योजना आवश्यक पर्नेछ।
कुनै पनि राजनीतिक दलको सदस्य नभएको, शैक्षिक प्रशासन वा प्राज्ञिक पदमा कार्य अनुभव चाहिनेछ।
छनोटका लागि हरेक आधारमा तोकिएको अंक अधिकतम अंक हुनेछ र कूल पूर्णाङ्क १०० मा मूल्याङ्कन हुनेछ। गणना गर्दा अधिकतम अंकभन्दा बढी भएमा अधिकतम पूर्णाङ्क कायम हुनेछ।
आवेदकको प्रशासनिक अनुभवलाई १० अंक, प्राज्ञिक अनुभव २०, अनुसन्धानसम्बन्धी लेख, प्रविधि, अनुसन्धानमूलक पुस्तक, प्रतिलिपि अधिकारमा २५, पाठ्यक्रम निर्माण, परीक्षा तथा मूल्यांकनसम्बन्धी दक्षता १०, राष्ट्रिय अन्तरराष्ट्रिय अनुसन्धान नेतृत्व तथा कोष वृद्धिसम्बन्धी अनुभवमा ५ अंकको व्यवस्था गरिएको छ।
त्यस्तै, राष्ट्रिय अन्तरराष्ट्रिय सहकार्य सम्मेलन नेतृत्वसम्बन्धी तालिममा ५, विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्य १५, कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामा १० अंकको व्यवस्था गरिएको छ।
छनोट समितिमा कार्यकारी परिषदबाट प्राध्यापकको संयोजकत्वमा गठित अन्य २ जना प्राध्यापक वा सह-प्राध्यापक गठित सदस्य भएको ३ सदस्यीय समिति रहनेछ।
सिफारिशसम्बन्धी व्यवस्थामा विनियम (४) को खण्ड (क) देखि (ज) सम्मका आधारहरूमा प्राप्त अंकको योगफलका आधारमा सर्वोत्तम अंक प्राप्त गर्ने ३ जना उम्मेदवारलाई समितिले डीन पदमा नियुक्तिका लागि वर्णानुक्रमको आधारमा सिफारिश गर्नुपर्ने मापदण्डसम्बन्धी विनियममा उल्लेख छ।
