हिमाली जिल्ला हुम्लामा भित्रिने यातायातका साधनहरुलाई अब खोला तर्नु नपर्ने भएको छ । यसअघि बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको पिलु खोलामा पुल नहुँदा खोला तर्नु पर्ने अवस्था रहेको भए पनि हाल बेलिब्रिज सञ्चालनमा आएपछि उक्त समस्या हटेको हो ।
सुर्खेतबाट हुम्ला जिल्लाका लागि नियमित बोलेरो जिप चलाउदै आएका चालक पुरन रावतले पिलु खोलामा बेलिब्रिज निर्माणपछि सहज भएको बताउनुभयो । यसअघि पुल नहुँदा खोला तर्नु पर्ने बताउँदै उनले यसले धेरै पटक गाडीमा समस्या देखिएको बताउनुभयो। अब नयाँ बेलिब्रिज निर्माण भएपछि खोला तर्नु पर्ने बध्यता हट्दा सबै खाले यातायातका साधनहरुलाई सहज भएको उहाँको भनाइ छ । उक्त खोलामा पुल नहुँदा यसअघि बर्खायाममा यातायातका साधनहरु बन्द हुने गरेका थिए । उनले अब बेलिब्रिजको निर्माणपछि बाह्रै महिना उक्त खोलामा यातायातका साधन सञ्चालनमा आउने बताउनुभयो । अर्का चालक ज्वोर बोहराले हुम्ला जाने गाडीहरुले बर्खाको समयमा गाडी चलाउन बन्द गर्नुपर्ने वा खोला पार गर्न स्काभेटर लगाएर भाडा तिर्नुपर्ने बाध्यता अब हटेको बताउनुभयो ।
कर्णाली करिडोरअन्तर्गत बाजुराबाट हुम्ला जिल्लाका लागि यातायातका साधनहरु सहज रुपमा सञ्चालनका लागि बाजुराको पिलुमा निर्माण कार्य सुरु भएको बेलिब्रिज सम्पन्न भएर सञ्चालनमा आएको खुलालु सलीसल्ला सडक योजनाका सूचना अधिकारी अन्तराज शहीले बताउनुभयो । उनले २०८१ साल वैशाख ७ गते सम्झौता भएर समयमै निर्माण कार्य पूरा भएर सञ्चालनमा अएको बताउनुभयो। खोलाभन्दा दश मिटर अग्लो र ४८ दशमलव आठ मिटर लम्बाई बेलिब्रिज रहेको छ ।
दुई करोड ३४ लाख ९७ हजार रुपियाँमा लागत लाग्ने गरी अज नेप्लीज जेभीसँग योजनाले सम्झौता गरेको थियो । निर्माण कार्य सम्पन्न गर्न एक वर्षको समयावधी रहेको भए पनि निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न भएर पुल सञ्चालनमा आएको उहाँको भनाइ छ ।
