सुर्खेतमा रेडियो नेपालको ७५ औं वार्षिक उत्सव मनाईयो


सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालको ७५ औं वार्षिक उत्सव तथा हिरक महोत्सवका अवसरमा प्रादेशिक प्रसारण कार्यालय सुर्खेतले आज विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाएको छ ।

प्रादेशिक प्रसारण कार्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलाप अन्तर्गतको विभिन्न खेलकुद प्रतियोगिताका विजयी भएका कर्मचारी खेलाडीलाई कार्यालय प्रमुख (ईन्जिनियर) अनुराधा थापाले पुरस्कार वितरण गरेकी हुन् । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कुर्ची दौड प्रतियोगितामा पुरुषतर्फ वरिष्ठ प्राविधिक अधिकृत नरेशसिंह थापा र महिला तर्फ धनसरा गुरुङ विजयी हुनुभएको छ ।

त्यस्तै रेडियो नेपाल कर्मचारीका बालबालिकाका लागि भएको चम्चा दौड प्रतियोगिताका सबै सहभागिलाई पुरस्कार वितरण गरिएको हो । सो अवसरमा आयोजित कार्यक्रममा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका प्रमुख (ईन्जिनियर) अनुराधा थापाले ऐतिहासिक गौरवपूर्ण ईतिहास बोकेको रेडियो नेपाललाई आम नेपालीको मुलस्ट्रिमको सञ्चार माध्यमका रुपमा अघि बढ्ने प्रयासलाई सबैको साथ–सहयोग आवश्यक रहेको औल्याउनुभएको छ ।

उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजन रुपान्तरण भएर सार्वजनिक सेवा प्रसारण भएपछि अब समाचार, मनोरञ्जन र खोजपूर्ण नयाँ जानकारी दिने सशक्त माध्यमका रुपमा अझै परिष्कृत गर्ने प्रयास जारी रहेको बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका कर्णाली प्रदेश ईन्चार्ज यामप्रसाद शर्माले परिवर्तित समयसँगै रेडियो नेपालले आफ्ना प्रसारण सेवालाई नागरिक केन्द्रित विपद् व्यवस्थापन, नागरिक जागरण, जनचेतना अभिवृद्धि लगायतका क्षेत्रमा थप योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारण मार्फत सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भएको बताउँदै रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत आनन्द पन्तले सूचना, सञ्चार, तथा सांस्कृतिक रुपान्तरणमा रेडियो नेपालले महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रशासन प्रमुख कृष्णामाया धामीले ७५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमका सहभागि अथिति, कर्मचारी तथा सम्पूर्ण श्रोता एवं शुभचिन्तकलाई हार्दिक बधाईसँगै शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *