भारतले नेपालसँगकाे सम्बन्धलाई ठूलाे प्राथमिकता दिएकाे छ : प्रधानमन्त्री माेदी


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको बताउनुभएको छ ।

थाइल्यान्डकाे बैंककमा रहेकाे होटल माडारिन ओरियन्टलमा नेपाली समकक्षी प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि माेदीले छलफल फलदायी भएको बताउनुभएकाे हाे । ‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गर्‍याैँ’, माेदीले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ ।

भारतीय प्रधानमन्त्री माेदीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेषगरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षीबीच झन्डै ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलन सकिएपछि उहाँहरूबीच पूर्वनिर्धारित तालिकानुसार भेटवार्ता भएको हो ।

यसअघि उहाँहरूबीच संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा गएकाे असोज ७ गते भेटवार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *