जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो। जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिए।
अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान उनीले दिएको प्रहरी निरीक्षक शाहीले बताए।
जिप्रका जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जुम्ला हिमा–३ का १९ वर्षीया किशोरीले यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर निवदेन दिएको जानकारी दिए। ‘घटना निकै गम्भीर र संवेदनशील छ’, उनले भने, ‘अनुसन्धानका क्रममा भएकाले अहिले नै यो हो भन्न सकिन्न। हामीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरिरहेका छौँ।’
रोकायको अवैध सम्पर्कबाट शिशु जन्मेको बताइएको छ। किशोरीले गत कात्तिक महिनामा शिशुलाई जन्म दिएकी थिइन्। पीडित किशोरीका बुवा शक्तिबहादुर कठायतका अनुसार किशोरीले यस वर्ष राहदेव मावि मोफ्लाबाट माध्यमिक शिक्षा परीक्षा दिएकी थिइन्।
उनले भने, ‘छोरीलाई गाउँपालिकामा तालिम दिन्छु भनेर झुक्याएर दानबहादुरले जबर्जस्ती सम्बन्ध राख्यो। शिशु जन्मेपछि अपहरण समेत गर्यो। न्याय माग्न जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका छौँ।

