एमालेकै कारण भिखारी बन्यो कर्णाली प्रदेश : महेन्द्रबहादुर शाही


नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले एमालेकै कारण कर्णाली प्रदेश भिखारी बनेको टिप्पणी गर्नुभएको छ ।

आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले एमालेले एनजीओको नाममा कर्णालीलाई लुटेको आरोप लगाउनुभएको हो । एनजीओको नाममा कर्णालीको फोटो खिचेर डलर कमाउने कामहरु भएको उहाँको आरोप छ । नेता शाहीले सरकारले अब पनि कर्णालीप्रति त्यही प्रकारको व्यवहार गर्ने र हेपाहा प्रवृत्ति देखाइराख्ने हो भने त्यहाँका जनप्रतिनिधिहरुले सोच्नुपर्ने बेला आउने बताउनुभयो । कर्णाली सम्पन्न प्रदेश हो । एमालेकै कारणले गर्दा कर्णाली प्रदेश भिखारी भएको हो । एनजीओको नाममा कर्णालीलाई लुटियो । एनजीओको नामबाट कर्णालीको फोटो खिचेर डलर कमाउने कामहरु भए । अब कर्णालीलाई हेपिएको मानसिकता भयो र सरकारले त्यही व्यवहार गर्यो भने हामी सबै कर्णालीका जनप्रतिनिधिले सोच्नुपर्ने बेला आएको छ । हामीले देशको समग्र विकास गर्ने हो भने नयाँ मोडलमा जान जरुरी छ, उहाँले भन्नुभयो ।

नेता शाहीले वर्तमान सरकारको काम र परिणामले यो सरकार जनताको पक्षमा छैन भन्ने पुष्टि गरेको बताउनुभयो । विगतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार हुँदा निदाउन नपाएका दलाल, विचौलिया, पुँजीपति, तस्कर र कमिशनखोरहरु अहिलेको सरकारको गतिविधिबाट आरामको तकिया सिरानीमा राखेर खुसीको साथ सुतिरहेको उहाँले बताउनुभयो । नेता शाहीले जताततै अस्तव्यवस्तता बढिरहेको र देश संकटमा रहेको बताउनुभयो । अहिले राजावादीहरुले व्यवस्थाविरुद्ध नै प्रश्न उठाइरहँदा सत्तारुढ दलहरुको मौन स्वीकृति त होइन भन्ने आशंका पैदा भइरहेको पनि उहाँले बताउनुभयो । नेता शाहीले नेपालको अबको यात्रा गणतन्त्रबाहेक अर्को कुनै तन्त्रको सपना नदेख्न चुनौती दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *