विद्या भण्डारीबारे ओलीको टिप्पणी : फलाना आउने भनेर खेल खेलिँदै छ


प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषयलाई लिएर टिप्पणी गरेका छन्।

आइतवार काठमाडौँमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले महाधिवेशनको मिति नै घोषणा नभएका वेला भ्रमको पछि नलाग्न आग्रह गरेका हुन्।

उनले पूर्वराष्ट्रपति भण्डारी पार्टीको जिम्मेवारीमा फर्किने समाचार बाहिरिरहेका वेला प्रधानमन्त्री ओलीले फलाना आउने अरे भन्दै फिँजाइएका भ्रममा विश्वास नगर्न आग्रह गरे। उनले गुट नै बनिसके भन्दै प्रचार गरिएको उल्लेख गर्दै गुटको कुरा गर्नेहरूको प्रतिकार गर्न निर्देशन दिए।

पूर्वराष्ट्रपति भण्डारीको बारेमा पार्टीमा कुनै छलफल नै नभएको बताउँदै महाधिवेशन घोषणा पनि नभएको र महाधिवेशनमा के गर्ने भन्ने सरसल्लाह नै नभएको जिकिर गरे। बाहिर भ्रम फिजाएर पार्टीलाई कमजोर बनाउने र पार्टी कार्यकताको मनस्थिति बिथोल्ने काम भइरहेको भन्दै यस्ता दुष्प्रयासलाई सोझै इन्कार गर्न निर्देशन दिए।

प्रधानमन्त्री ओलीले भने, ‘फलानाका ग्रुप, यसका ग्रुप त्यो छोडिदिनुस्। अर्को खेल हुन खोजेको छ यहाँ अब फलाना आउने अरे, फलाना आउने अरे, यस्तो यस्तो। पार्टीमा कुनै छलफलै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणै भएको छैन। महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन। छलफल भएको छैन, अनि यो बाहिर बाहिरका हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता दुष्प्रयासलाई सोझै इन्कार गर्नुस्। यस्ता खालका कुरा नगर्न जवाफ दिनुस्। स्टाटस, सिस्टाटसलाई पनि जवाफ दिए हुन्छ।’

प्रधानमन्त्री ओलीले पार्टीका आन्तरिक कुरा भए पार्टीभित्र गर्न र सामाजिक सञ्जालबाट पार्टीलाई खुइल्याउने, होच्याउने, अपमान गर्ने काम नगर्न चेतावनी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *