पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अहिले पक्ष–विपक्षमा बहस भइरहेको छ । काभ्रेमा रहेको पतञ्जली योगपिठको जग्गा हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
स्वयम् नेपालले राजनीतिक प्रतिशोध तथा पूर्वाग्रहको आधारमा आफू विरुद्ध मुद्दा चलाइएको आरोप लगाएका छन् । यस्तै उनको पार्टी नेकपा एकीकृत समाजवादीले पनि मुद्दाको कानुनी रूपमा प्रतिवाद गर्ने बताएको छ ।
आफ्नो राजनीतिक करियर समाप्त पार्न अख्तियार प्रयोग गरिएको नेपालको आरोप छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीसहित विपक्षी दलहरूले पनि नेपालविरुद्धको मुद्दामा राजनीतिक गन्ध आएको निष्कर्ष निकालेका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमै पतञ्जली प्रकरणमा कहीँ न कहीँ राजनीतिक प्रतिशोधको गन्ध आएको बताइएका छन् । ‘राजनीतिक प्रतिशोधनको गन्ध आएकै छ । अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको छ । पहिला अख्तियारले कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको नीतिगत निर्णयको विषय अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने भएकाले ललिता निवास प्रकरणको सन्दर्भमा माधव र बाबुराम भट्टराईको बारेमा प्रश्न उठेको थियो’, प्रचण्डले भनेका थिए, ‘अख्तियारले यो अधिकार क्षेत्रभित्र पर्दैन जे गर्नुछ क्याबिनेटले गरोस् भनेर चिठी लेखेको म आफैले हेरेको छु । तर अहिले त्यही अख्तियारले माधवजीले गरेको नीतिगत निर्णयमा प्रवेश गरेकाले प्रश्न उठेको छ । सायद अख्तियारले जवाफ देला ।’
प्रचण्डले अख्तियारको नजिर स्थापित भएमा जो कोही प्रधानमन्त्री समेत छानबिनको दायरमा आउन सक्ने गम्भीर प्रश्न उठाए । यसबारे सैद्धान्तिक र नीतिगत बहस हुन जरुरी रहेको उनले बताएका थिए ।
