सुर्खेतमा रास्वपाको र्‍याली


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । मंगलगढी चौकबाट सुरु भएको र्‍याली वीरेन्द्रचौक हुँदै पुनः मंगलगढी चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य पार्टी सभापति रवि लामिछानेविरुद्ध भइरहेको भनिएको राजनीतिक हस्तक्षेपको विरोधमा जनमत संकलन गर्नु रहेको थियो । ‘जनताको हस्ताक्षर संकलन अभियान’ अन्तर्गत आयोजना गरिएको कार्यक्रममा करिव ४ घण्टाको विचमा ६ सय जना बढिले हस्ताक्षर गरेका थिए ।

कोणसभामा बोल्ने नेताहरूले लामिछानेमाथि राजनीतिक प्रतिशोध स्वरूप अन्यायपूर्ण व्यवहार गरिएको आरोप लगाउँदै न्यायको पक्षमा जनतालाई एकजुट हुन आग्रह गरे । रास्वपा सुर्खेतका सभापति रमेशकुमार सापकोटाले देशभरका सबै जिल्लामा यस्तै हस्ताक्षर अभियान सञ्चालन गरिने भएकाे जानकारी दिए ।

उनले भने, “सुशासनको अभाव रहेको वर्तमान परिस्थितिमा हाम्रो पार्टीका सभापति माथि गरिएको राजनीतिक हस्तक्षेपको विरुद्ध जनताको आवाज बुलन्द गर्न हामी यो अभियानमा उत्रिएका हौं ।

यही अवसरमा रास्वपाले समसामयिक राजनीतिक परिस्थितिबारे अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ । कार्यक्रममा पार्टीका स्थानीय नेताहरू, बुद्धिजीवी, युवाहरू तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

रास्वपाले स्थापना दिवसलाई जनसम्पर्क र जनमत निर्माणको अवसरको रूपमा उपयोग गर्दै लोकतन्त्र, न्याय र सुशासनको पक्षमा संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *