मंगलबार मध्याह्न बुद्ध एयरको विमानमार्फत १३ सदस्यीय टोलीसहित गृहमन्त्री अर्याल सुर्खेत आइपुगेका हुन् । उनी बुधबार हुने प्रदेशको उच्चस्तरीय सुरक्षा व्यवस्थापन समितिको बैठकमा सहभागी हुनका लागि सुर्खेत आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपेन्द्र मगराठीले बताए ।
सुर्खेत ओर्लिएलगत्तै गृहमन्त्री अर्याले भेरीगङ्गास्थित राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनको अनुगमनमा निस्किएका छन् । मगराठीका अनुसार, त्यस पश्चात् अन्य खासै भेटघाट तथा छलफल हुने कार्यक्रम आज छैन ।
बुधबार वीरेन्द्रनगरको शुभ होटलमा आयोजना हुने उच्चस्तरीय सुरक्षा व्यवस्थापन समितिको बैठकमा उनले भाग लिनेछन् । उक्त बैठकमा आफूसँगै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्याल र नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठसहितको सहभागिता हुने बताइएको छ ।
यो बैठकमा कर्णाली प्रदेशका दशवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ), जिल्ला प्रहरी प्रमुखहरू तथा अन्य सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने छ ।
कर्णाली प्रदेशभित्रका सुरक्षा चुनौती, सीमा सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्ने रणनीति र विकास आयोजनाहरूको सुरक्षा प्रबन्धका विषयमा समीक्षा गर्ने बुझिएको छ ।
प्रहरीका अनुसार अर्याल बुधबार सुरक्षा बैठक सकेर फर्किने छन् ।
