नेपाली कांग्रेसले तोकिएको समयमै महाधिवेशन हुन नसक्ने स्पष्ट पारेको छ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तोकिएको समयमा महाधिवेशन गर्ने आधार नरहेको निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशनको सन्दर्भमा सबैभन्दा ठूलो चुनौती सक्रिय सदस्यता टुंग्याउनु रहेको र सक्रिय सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगनकुमार थापा नै रहेको बताए।
उनले जिल्ला जिल्लामा गरिएको परिपत्र क्रमसंख्या नभएको सक्रिय सदस्यता फारम गएकाले फेरि पठाउनुपर्ने अवस्था रहेको बताए। उनले कतिपय जिल्लामा समयमै फारम भरेर बुझाउन नसकेको र भरेर मात्रै नहुने अवस्था रहेकाले त्यसमा इन्ट्री गर्नुपर्ने र त्यो सहज नरहेको बताए।
विधिसम्मत तरिकाले काम गर्नुपर्ने भएकाले क्रियाशील सदस्यता टुंगिने कुरा जिल्लाका कार्यकर्ताले सकेको प्रयास गर्दा पनि सफल हुन नसकेको बताए।
त्यसले पनि तोकिएको समयमा अधिवेशन गर्न सबैको तदारुकता र क्रियाशिलता हुँदाहुँदै पनि सम्भव नरहेको बताए।
