एमाले जनप्रिय मतसहित पहिलो दल बन्छ : प्रचार विभाग संयोजक शाही


सुर्खेत । नेकपा एमालेका केन्द्रीय प्रचार विभाग संयोजक मिनबहादुर शाहीले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमाले जनप्रिय मतसहित पहिलो पार्टी बन्ने दाबी गरेका छन्। शनिबार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देशका १६५ मध्ये १६३ निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार उठाएको जानकारी दिए।

आगामी निर्वाचनबाट एमालेले बहुमत प्राप्त गरी सरकार गठन गर्ने र देशभर लोकप्रिय मतका आधारमा पहिलो पार्टी बन्ने उनको दाबी छ। पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट सर्वाधिक लोकप्रिय मतसहित विजयी हुने दाबीसमेत उनले गरे। ‘विगतका योगदान र जनसमर्थनका आधारमा एमालेका उम्मेदवार विजयी हुन्छन्,’ उनले भने।

देशभर एक निर्वाचन क्षेत्रबाहेक अन्यत्र एमालेले कुनै पनि दल वा उम्मेदवारसँग गठबन्धन नगरेको शाहीले स्पष्ट पारे। कर्णालीमा रुकुम पश्चिम बाहेक अन्य जिल्लामा एमालेले गठबन्धन गरेको भन्ने हल्ला निराधार रहेको उल्लेख गर्दै त्यसप्रति सचेत रहन उनले आग्रह गरे।

एमाले सामाजिक न्यायसहितको लोकतन्त्र सुदृढ बनाउन प्रतिबद्ध रहेको दाबी गर्दै उनले मतदातालाई विवेक प्रयोग गर्न अनुरोध गरे। निर्वाचनको मुखमा मतदाताको मनोविज्ञान प्रभावित गर्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दै उनले स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनावका लागि सरकार गम्भीर हुनुपर्ने बताए।

मतपेटिकाको सुरक्षाबारे विगतका अभ्यासअनुसार सुरक्षा निकायले नै जिम्मेवारी वहन गर्नुपर्ने धारणा उनले राखे। युवालाई संगठित गर्ने नीति एमालेले अवलम्बन गरेको उल्लेख गर्दै उनले जेन–जीका मुद्दामा एमालेको फरक मत नरहेको तर त्यसको नाममा हिंसा मच्चाउने प्रवृत्तिको विरोध गर्ने बताए। ‘एमालेप्रति आकर्षण घटेको भन्ने कुरा गलत हो, युवामाझ समर्थन बढ्दो छ,’ उनले दाबी गरे।

यस्तै, बीबीसीले हालै सार्वजनिक गरेको एक डकुमेन्ट्रीप्रति संकेत गर्दै शाहीले निर्वाचनको सन्दर्भमा यस्ता सामग्रीले मतदाताको मनोविज्ञान प्रभावित गर्न सक्ने टिप्पणी गरे। सबै सञ्चारमाध्यमप्रति विश्वास रहेको उल्लेख गर्दै उनले मतदान प्रभावित गर्ने खालका सामग्री प्रकाशन–प्रसारण नगर्न आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *