कर्णालीलाई समृद्ध बनाउने जिम्मा युवाको काँधमा छ : प्रदेश प्रमुख जोशी ।


कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले अब कर्णालीलाई समृध्द बनाउने जिम्मा युवाको काँधमा रहेको बताएका छन।

उनले गरिब र अशिक्षित छ भन्ने पुरानो मानसिकता त्यागेर समृद्धिको नयाँ बाटोका लागी युवाहरूले काँधमा जिम्मेवारी लिनुपर्ने बताएका हुन। शनिबारदेखि वीरेन्द्रनगरमा आयोजित कर्णाली युवा महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै उनले कर्णाली सम्भावनाले भरिपूर्ण रहेको र ती सम्भावनालाई उजागर गर्ने जिम्मा युवाहरूको भएको उनको भनाइ छ ।

प्रदेश प्रमुख जोशीले कर्णालीको हीनताबोध त्याग्नुपर्नेमा जोड दिँदै भने, “कर्णाली गरिब छ, अशिक्षित छ भन्ने मनोवृत्तिबाट हामी टाढा रहनुपर्छ । कर्णाली समृद्ध छ र यहाँ उज्ज्वल भविष्य छ भन्ने सोचका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’ उनले यो युग युवाहरूको भएको उल्लेख गर्दै अहिलेको परिस्थितिमा निराश नभई उत्साहित भएर काम गर्न युवाहरूलाई प्रेरणा दिए । सम्बोधनका क्रममा प्रदेश प्रमुख जोशीले कर्णालीको समृद्धिको मुख्य आधार नै कृषि भएको बताए । युवाहरू रोजगारीका लागि भारत र अन्य देशमा जानुपर्ने बाध्यताको अन्त्य गर्न कृषि क्षेत्रमा क्रान्ति ल्याउनुपर्ने उनको तर्क थियो ।
‘कर्णालीमा सबैभन्दा पहिले कृषिमा जोड दिनुपर्छ, जसले यहाँका युवाहरूलाई आफ्नै माटोमा स्वरोजगार बनाउँछ,’ उनले भने, ‘हाम्रा युवाहरू यहाँका सम्भावना छाडेर मुग्लान पस्नुपर्ने अवस्था दुःखद छ । सरकारले कृषिमा युवाहरूलाई लाग्न प्रेरित गर्ने ठोस कार्यक्रम ल्याउनुपर्छ ।’ कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न धेरै ठूलो लगानी भन्दा पनि सही नीति र समन्वय आवश्यक रहेको जोशीको भनाइ थियो । प्रदेश र स्थानीय सरकारले संयुक्त प्रयास गरेमा कर्णालीलाई समृद्ध बनाउन र युवाहरूलाई रोजगारी दिन असम्भव नरहेको उनले दावी गरे ।
‘कृषितर्फ युवाहरूलाई उन्मुख गराउन ठूलो लगानी लाग्दैन,’ उनले थपे, ‘यसका लागि संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारबीच नियमित र प्रभावकारी समन्वय हुनु आवश्यक छ ।’ गत शनिबारदेखि सुरु भएको कर्णाली युवा महोत्सवमा प्रदेशभरका युवाहरूको सहभागिता थियो । उत्सवमा विकास, नेतृत्व र उद्यमशीलताका विषयमा गहन छलफल भएका थिए ।
त्यस्तै कार्यक्रममा १० युवालाई कर्णाली युथ आइकन अवार्ड प्रदान गरिएको छ।
कर्णाली युवा महोत्सवको अवसरमा कर्णालीलाई कर्मथलो बनाएर सामाजिक रुपान्तरणका क्षेत्रमा काम गरेका १० जना युवालाई कर्णाली युथ आइकन अवार्डबाट सम्मान गरिएको हो ।

सोमबार महोत्सव समापन समारोहमा प्रदेश प्रमुख जोशीले कर्णालीको स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएवापत नेत्र रोग विशेषत्र डाक्टर आकांक्षा रानालाई युथ आइकन अवार्ड प्रदान गरे । यस्तै, पत्रकारिताको तर्फबाट चाँदनी कठायत, गीत संगिततर्फ इब्सल सन्ज्याल, शिव संगित, युवा व्यवसायीतर्फ मनिषजंग शाही, युवा उद्यमीतर्फ प्रमिला बुढा, सामाजिक क्षेत्र हिक्मत वादी, समाजसेवीका रुपमा हरि कँडेल, चलचित्रतर्फ केशव थापा, युवा उत्प्रेरक आदर्शविक्रम सिंहले युथ अवार्ड प्राप्त गरेका छन् । उनीहरुलाई प्रदेश प्रमुख जोशीले अवार्ड प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *