सुर्खेत, जेठ २४
कर्णाली प्रदेश अस्पताल निर्देशक डा. गणेश थापाले स्वास्थ्य बिमा कार्यक्रमको रकम दुरुपयोग हुँदा राज्य संयन्त्रले यसको आर्थिक भार थेग्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन्। बिमा रकमको सही सदुपयोग हुन नसक्दा राज्यको ढुकुटीमाथि अनावश्यक दबाब परेको बताएका हुन।

आइतवार एक अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक डा. थापाले नागरिकको स्वास्थ्योपचारलाई सहज बनाउन ल्याइएको सकारात्मक कार्यक्रम भए तापनि यसको प्राविधिक तथा व्यावहारिक पक्षमा कतिपय कमजोरी र दुरुपयोग देखिएको उल्लेख गरे । “स्वास्थ्य बिमा सर्वसाधारणका लागि बरदान साबित हुनुपर्ने हो, तर यसको बढ्दो दुरुपयोग र अनावश्यक परीक्षणका कारण राज्य संयन्त्रले थेग्नै नसक्ने गरी आर्थिक व्ययभार थपिँदै गएको छ,” उनको धारण छ।
निर्देशक डा. थापाका अनुसार सामान्य स्वास्थ्य समस्यामा पनि बिमाको रकम सिद्ध्याउने नियतले थाइराइड, भिटामिन डि जस्ता महगाँ र अनावश्यक प्रयोगशाला परीक्षण गराउने प्रवृत्ति बढ्नु चिन्ताको विषय हो। वास्तविक बिरामीले समयमा सेवा नपाउने तर प्रक्रिया पुर्याएर बिमाको रकम दाबी गर्ने परिपाटीले कार्यक्रमको मूल मर्ममाथि नै प्रहार गरिरहेको छ।
पश्चिम नेपालकै प्रमुख स्वास्थ्य केन्द्रको रूपमा रहेको कर्णाली प्रदेश अस्पतालमा बिमा मार्फत उपचार गराउने सेवाग्राहीको चाप उच्च छ।कम जनशक्ति भएको ठाउँमा बिमाको कागजातहरू स्क्यान लगायत कागजी पुर्याएर एउटा बिरामी बराबर अन्य तीन जना बिरामीको परीक्षण गर्न समय लाग्छ। त्यसैमा बिमा बोर्ड बाट समयमा भुक्तानी नहुने र सेवाको दुरुपयोग बढ्दा अस्पताल व्यवस्थापन र सेवा प्रवाहमा समेत चुनौती थपिएको डाक्टर थापाको भनाइ रहेको छ।

कार्यक्रममा थप बोल्दै निर्देशक थापाले बिमा कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन तत्कालै कडा नियमन र अनुगमनको संयन्त्र आवश्यक रहेकोमा जोड दिएका छन। वास्तविक बिरामी पहिचान गर्ने र स्वास्थ्य संस्थाहरूबाट हुने दाबी प्रक्रियालाई पारदर्शी बनाउन डिजिटल प्रणालीलाई अझ चुस्त बनाउनुपर्ने उल्लेख गर्दै राज्यले ठूलो रकम लगानी गरेको यस लोकप्रिय कार्यक्रमलाई बचाउन नागरिक स्वयं र सेवा प्रदायक स्वास्थ्य संस्था दुवै उत्तिकै जिम्मेवार र इमानदार हुनुपर्नेमा जोड दिँदै डा. थापाले बेलैमा कदम नचाले यो प्रणाली नै धराशयी हुन सक्ने टिप्पणी गरेका छन ।
यसैबिच कर्णाली प्रदेश अस्पतालले बिमा कार्यक्रम लागु भएदेखि हाल सम्म ७५ करोड भन्दा बढि रकम बिमा बोर्ड बाट भुत्तानी पाए पनि अझै ६० करोड रकम पाउन बाँकि दाबि रहेको अस्पताल स्रोतले बताएको छ।
