गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभाका सबै सदस्यले मुख्यमन्त्रीमा दाबी गर्न सक्ने बताएका छन् । तर, उक्त दाबी पुग्छ वा पुग्दैन भनेर हेर्ने काम प्रदेश प्रमुखको भएको उनले बताए ।
पोखरामा आइतबार पत्रकार सम्मेलन गर्दै गुरुङले भने, ‘प्रदेशका सबै सदस्यले दाबी गर्न पाउँछन् । मैले दाबी गर्दा अपराध हुन्छ ? कहाँ छ संविधानमा मुख्यमन्त्रीले दाबी गर्नुहुँदैन भन्ने ?’
उनले सहज रूपमा विधि र प्रक्रियाअनुसार सरकार परिवर्तन भएको बताए । उनले आफ्नो पार्टीका सदस्यहरूको लिस्ट लिएर प्रदेश प्रमुखकोमा गएको बताए । आफूले दाबी गर्न पाउने उनकाे भनाइ छ ।
गण्डकी प्रदेशमा बनेकाे गठबन्धन लामो समय नजाने टिप्पणी पनि उनले गरे । भने, ‘म कामना गर्छु, उहाँहरूको गठबन्धन लामो समय चलोस् । जुन उद्देश्यले सरकार गठन भएको हो, त्यो होस् ।’
आफूले सरकार राम्रोसँग चलोस् भन्ने कामना गरे पनि यसको आयू भने लामो नभएको गुरुङको टिप्पणी थियो । सिलापत्रबाट
