नेपालमा कोरोनाभाइरसको दोस्रो लहर फैलिने क्रम जारी नै छ।

तुलनात्मक रूपमा हेर्दा कोरोनाभाइरसको यस पटकको लहरको प्रभाव बढी पाइएको छ।
सङ्क्रमितहरूको सङ्ख्या र मृत्यु हुनेको सङ्ख्या पनि यस अघिको लहरका तुलनामा बढी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
यस्तो अवस्थामा कोरोनाभाइरस सङ्क्रमणबारे तपाईँहरूले हाम्रो फेसबुक र ट्विटरमा राखेका केही जिज्ञासाहरूको उत्तर खोज्ने प्रयत्न गरेका छौँ ।
तपाईँका जिज्ञासाको जवाफ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम र शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनसँग लिएका छौँ।
त्यस्तै बीबीसी न्यूज नेपालीले यस अघि प्रकाशन गरेका जानकारीमूलक सामाग्रीहरूबाट पनि हामीले केही प्रश्नका उत्तर साभार गरेका छौँ।
कतिपय प्रश्नहरू दोहोरिएकाले हामीले त्यसलाई केही सम्पादन गरी विज्ञहरू समक्ष राखेका छौँ।
पढ्नुहोस् तपाईँका जिज्ञासामा विज्ञहरूको जवाफ:
सुदीप घिमिरे: सङ्क्रमणको शङ्का लागेमा कहाँ र कसलाई सम्पर्क गर्ने ?
१२ दिन आइसोलेसनमा बसेपछि परीक्षण गर्नु पर्छ कि पर्दैन? सङ्क्रमित समस्या भयो भने कुन अस्पताल लैजाने ? कसलाई सम्पर्क राख्ने?
डा. गौतम: सबैभन्दा पहिला त कोरोनाभाइरसको आफूलाई शङ्का लागेको छ भने नजिकको अस्पतालमा गएर जँचाउने।
अहिले पीसीआर परीक्षण नै गर्नुपर्छ भन्ने छैन। त्यसकारण जिल्ला अस्पतालहरूमा एन्टिजन परीक्षण उपलब्ध छ जुन सहजै गर्न सकिन्छ।
त्यस्तै परीक्षण गर्दा पोजेटिभ आएको १० दिन आइसोलेसन बसेपछि पछि पुनः परीक्षण गर्नुपर्दैन किनभने एक-डेढ महिनासम्म पनि नतिजा पोजेटिभ आउन सक्छ।
भाइरस नभएर भाइरसको ‘डेड पार्टिकल’हरू परीक्षणले हेर्न सक्ने हुँदा परीक्षण गरिराख्न जरुरी छैन।
कोरोनाभाइरस सङ्क्रमण जटिल भएको वा नभएको छुट्टाउने चार सङ्केत
तेस्रो कुरा कोरोनाभाइरसको लक्षण देखिएको अवस्थामा अस्पतालमा आईसीयू, भेन्टिलेटर वा अक्सिजन सोध्ने होइन।
नजिकको अस्पतालको इमर्जेन्सीमा जानुपर्छ। त्यहाँ आवश्यकता अनुसार बिरामी हेरिन्छ। काठमाण्डूको कुरा गर्दा अहिले १३ वटा सरकारी अस्पतालमा कोभिड ओपिडी सञ्चालनमा छन्।
चिकित्सकहरूले विभिन्न कुराहरू हेर्नुहुन्छ। जरुरी परे अक्सिजन दिनुहुन्छ, नपरे यसरी बस्नूस्, यो औषधि खानूस् भनेर आइसोलेशनका लागि घर पठाइदिनुहुन्छ।
यदि कसैलाई गम्भीर नै लक्षण रहेछ भने अस्पताल भर्ना गर्ने पनि व्यवस्था मिलाइएको छ।
त्यस्तै हालसालै बीबीसीले कोभिडको लक्षण देखिएर अहिलेको अवस्थामा के गर्ने भनेर राखेको जिज्ञासामा स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले यस्तो सुझाव दिएका थिए:
परीक्षण गर्दा पोजेटिभ देखिए, नेगेटिभ भए पनि लक्षण देखिए वा गाह्रो महसुस भए ११३३ र १११५ नम्बरको हटलाइन सेवामा सम्पर्क गर्न सकिने छ।
त्यसबाहेक ९८५१२५५८३९, ९८५१२५५८३७ नम्बरका मोबाइल नम्बरबाट चौबीसै घण्टा चिकित्सकहरूले सल्लाह दिने गरेको छ।
आफूलाई लक्षण के छ, आफूलाई गाह्रो के भएको छ भनेर त्यहाँ सम्पर्क गर्न सक्छौँ।
त्यो गर्दा चिकित्सकले घरमै बस्दा गर्न सकिने उपाय भन्नुहुन्छ भने नजिकमा कुन स्वास्थ्य संस्थामा (शय्या) खाली छ भन्ने कुराको प्रबन्ध गरिदिनुहुन्छ। bbc news
